लण्डन। बेलायतका लागि नेपाली राजदूत डा.दुर्गावहादुर सुवेदीले बेलायतवाट निर्माण भएको चलचित्र कैदीको–पत्रमा अभिनय गरेको बताएका छन्। राजदूत डा.सुवेदीले नेपाल चलचित्र कलाकार संघ बेलायत शाखाको प्रथम अधिवेशनको अवसरमा चलचित्र कैदीको–पत्रमा आफूले अभिनय गरेको बताएका हुन्।

साहित्यकार ईश्वर मानन्धरको अमर कृति कैदीको–पत्रको कथा संग्रहमा आधारित तथा सनमकुमार बैरागव्दारा निर्देशित नेपाली कथानक चलचित्र कैदीको–पत्रमा राजदूत डा.सुवेदीको अभिनय रहेको छ। कार्यक्रममा राजदूत डा.सुवेदीलाई  नेपाल चलचित्र कलाकार संघका केन्द्रिय अध्यक्ष रविन्द्र खड्काले नेपाल चलचित्र कलाकार संघको मानार्थ सदस्यता पनि प्रदान गरेका थिए।

नेपाली साहित्य क्षेत्रमा दुबसु क्षेत्री नामले पनि सुपरिचित राजदूत डा.सुवेदीका नेपाली साहित्य क्षेत्रमा दर्जनौ कृति प्रकाशित छन्। नेपाली कला र कलाकारहरुको प्रेरक व्यक्तित्व बेलायतका लागि नेपाली राजदूत डा.सुवेदीले चलचित्र कैदीको–पत्रमा अभिनय गरेको संभवत पहिलो नै हो। राजदूत डा.सुवेदीव्दारा अभिनित चलचित्र कैदीको–पत्र आगामी नयाँ बर्षको जनवरी महिनाभित्र रिलिज हुने जानकारी निर्देशक सनमकुमार बैरागले दिएका छन्।
प्रकाशन मिति–२०७६ साल मंसीर ३ गते मंगलवार ।