काठमाडौ। नेपालभाषामा निर्माण भएको पछिल्लो चलचित्र तुयुमती यतिखेर चर्चाको विषय बनेको छ। नेपालभन्दा बाहिर प्रवास बेलायतमा समेत सफलतापूर्वक प्रदर्शन भएको चलचित्र तुयुमती अव नेपालमा रिलिज हुने भएको छ। यही साउन २२ गते शनिवार नेपाल संकिपा समाजको आयोजनामा नेपालभाषा फिल्म महोत्सव अन्तर्गत चलचित्र तुयुमतीलाई काठमाडौको बागबजार स्थित सिटीम्याक्स हलमा प्रदर्शन गरिने आयोजकले जनाएको छ।

Tuyumati 1नेपालभाषा फिल्म महोत्सवमा चलचित्र तुयुमतीको बेग्लै आकर्षण र महत्व देखिएको छ। नेपाल देखि बेलायतसम्मको कथावस्तुमा आधारित अर्गानिक नेपालभाषाको यथार्थपरक चलचित्र तुयुमतीको निर्माण तथा निर्देशन मनिष कुमार श्रेष्ठले गरेका छन्। चलचित्र तुयुमतीमा तुयुमती बनेकी नेपालभाषाकी चर्चित अभिनेत्री अन्नपूर्णेश्वरी शिल्पकारको अलावा मेनलिड रोलमा निर्माता तथा निर्देशक श्रेष्ठ रहेका छन्।

साथमा बरिष्ठ हाँस्यअभिनेता मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, धीरेन शाक्य, राजमती हिसिला महर्जन, मणिराज लवत, राजेन्द्र खड्गी, सविन शाक्य चाकुचा, हृद्यप्रसाद मिश्र लगायतका कलाकारहरुको अभिनय रहेको छ। निर्देशन आर्यम नकर्मीले गरेका छन्। चलचित्र तुयुमतीको रिलिजको लागि नै बेलायतमा विगत सत्र बर्षदेखि बसोबास गर्दैआएका अभिनेता मनिष कुमार श्रेष्ठ साउन १८ गतेसम्म नेपाल आउने भएको छ।

प्रकाशन मिति–२०७३ साल साउन १३ गते विहीवार ।