काठमाडौं। चलचित्र विकास बोर्डले आफ्नो १९औं वार्षिक उत्सवको अवसर पारेर राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोह आयोजना गर्ने भएको छ। असार २७ गते राष्ट्रपति भवन शितल निवासमा राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोह हुने भएको हो।

चलचित्र विकास वोर्डका चलचित्र संग्रहालय, सूचना तथा अन्तरराष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईव्दारा प्रेषित प्रेस विज्ञप्ति अनुसार, उक्त पुरस्कार समारोह भव्यरुपमा आयोजनाको लागि विभिन्न तयारी भइरहेको छ। हरेक वर्ष आयोजना हुने राष्ट्रिय चलचित्र पुरस्कार समारोह विविध कारणले २०७४ र ०७५ मा हुनसकेको थिएन। त्यसैले पनि यसपटकको पुरस्कार समारोहलाई विशेषरुपमा हेरिएको छ।

यसपटक समारोहमा २०७३, २०७४ र २०७५ गरी तीन वर्षको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ। तीन वर्षकै नेपाली चलचित्र हेरेर निर्णायकले बोर्डमा परिणाम बुझाइसकेका छन्। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रदान हुने यो पुरस्कारमा यसपटक सम्मानपत्र र अवार्डसँगै नगदराशी पुरस्कारको पनि व्यवस्था गरिएको छ । २०७३, ०७४ र ०७५ सालमा यो पुरस्कारबाट पुरस्कृत हुनेहरुलाई प्रति विधामा जनही २५ हजार रुपैयाँ समेत प्रदान गरिने चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले वताएका छन्। समारोहमा तीन वर्षकै दीर्घ साधना सम्मान पनि प्रदान गरिने भएको छ।

यस्तै चलचित्र विकास बोर्डले आफ्नो १९औं वार्षिक उत्सवको अवसर पारेर यही २०७६, असार १६ मा नेपाली चलचित्र क्षेत्रमा विभिन्न विधामा सम्मानित हुनुहुने सबै विशिष्ट चलचित्रकर्मी, सर्जक तथा संस्थाहरुलाई सम्मान स्वरुप जनही २५ हजार रुपैयाँ प्रदान गरिने निर्णय चलचित्र विकास बोर्डले गरेको छ। यता राष्ट्रिय चलचित्र पुरस्कार समारोहलाई चलचित्रमय बनाउन अग्रजदेखि नयाँ पुस्तासम्मका विभिन्न नायक नायिकाहरुले करिब १२ मिनेटको नृत्य प्रस्तुत गरिने भएको छ । जसका लागि एक साता यताबाट नृत्य अभ्यास भईरहेको छ । पहिलो चलचित्र आमादेखि हालसम्मका चलचित्रका चर्चित एवम् कालजायी गीतमा कलाकारहरुले पुरस्कार समारोहमा नृत्य प्रस्तुत गर्नेभएका छन्।

यसका लागि नृत्य निर्देशकहरुः बसन्त श्रेष्ठ, राजु शाह र कविराज गहतराजले विभिन्न गीतमा नृत्य प्रशिक्षण गरिरहेका छन्। यसपटक पुरस्कार समारोहमा नृत्य प्रस्तुत गर्नका लागि अग्रज अभिनेता–अभिनेत्री सरोज खनाल, गौरी मल्ल, सनी रौनियार, रमेश उप्रेती, दीलिप रायमाझी, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, रेजिना उप्रेती लगायत नृत्य प्रशिक्षणमा व्यस्त रहेका छन्।

यस्तै समकालीन पुस्ताका अभिनेता–अभिनेत्रीहरुः केदार घिमिरे, पुष्प खड्का, नीता ढुंगाना, पवित्रा आचार्य, बिमला केसी, छुल्ठिम गुरुङ लगायत विभिन्न कलाकारहरु पनि नृत्य अभ्यासमा व्यस्त छन्। यो अभ्यास बुधबारसम्म सम्पन्न हुने वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठले बताएका छन्।
प्रकाशन मिति–२०७६ साल असार २३ गते सोमवार ।