काठमाडौं। विसं. २०७२ वैशाख १२ मा गएको महाभूकम्पले विश्व सम्पदामा सूचीकृत कतिपय पुरातात्विक संरचना भग्नावशेषमा परिणत भएको चार वर्ष बितिसकेको छ। चार वर्षपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पदाको पुनःनिर्माणको अवस्थाबारे स्थलगत अवलोकन गरेकी छन् ।

शनिवारको छुट्टीलाई अवसरको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पबाट क्षतिग्रस्त साँस्कृतिक तथा धार्मिक पुरातात्विक सम्पदा पुनःनिर्माणका संवन्धमा अवलोकन भ्रमण गरेकी छन्। पुनःनिर्माणका सवन्धमा व्यापक चासो देखाउने कार्य राष्ट्रपतिवाट भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ सालमा गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका साँस्कृतिक तथा धार्मिक संरचनामध्ये सबैभन्दा पहिले पुनःनिर्माण भइरहेको रानीपोखरीको स्थलगत अवलोकन गरेकी छन्।

रानीपोखरी पुगेपछि राष्ट्रपति भण्डारीले रानीपोखरीको निर्माण सम्पन्न हुने समय र यसको ऐतिहासिक महत्वको बारेमा जिज्ञासा राखेकी थिइन्।रानीपोखरीको २०७७ वैशाखमा निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ। त्यसैगरी, राष्ट्रपति भण्डारीले रानीपोखरीनजिकै रहेको दरबार हाइस्कुलको पनि निरीक्षण गरिन्। चीन सरकारको सहयोगमा निर्माण भइरहेको दरबार हाइस्कुल निरीक्षण गर्दै पछिल्लो स्वरुप र बनावटको प्रशंसासमेत गरिन्। निर्माणकार्य सम्पन्न हुनै लागेको दरबार हाइस्कुलको रङरोगन गर्ने र यसलाई अन्तिम रुप दिने काम भइरहेको छ।

दरबार हाइस्कुलको अवलोकनलगत्तै राष्ट्रपति भण्डारीले सुन्धारास्थित निर्माण भइरहेको ऐतिहासिक धरहराको निरीक्षण गरेकी छन् । धरहरा निर्माणको क्रममा चौथो तल्लाको निर्माणकार्य भइरहेको छ । धरहराको अवलोकनपछि राष्ट्रपति भण्डारीले पुनःनिर्माणकार्य भइरहेको काष्ठमण्डपको अवलोकन गरेकी थिइन्। हुनमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमअन्तर्गत् काठमाडौं महानगरपालिकाको आर्थिक अनुदानमा काष्ठमण्डपको पुनःनिर्माण भइरहेको छ।

राष्ट्रपति भण्डारीले काष्ठमण्डपको अवलोकनलगत्तै हनुमानढोका, वसन्तपुर क्षेत्रको अवलोकन गर्दै पुनःनिर्माण चाँडै सम्पन्न गर्न आग्रहसमेत गरिन्। राष्ट्रप्रति भण्डारीलाई पुनःनिर्माण हुँदै गरेका संरचनाको पुनःनिर्माणको बारेमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृति सुशील ज्ञवालीले जानकारी दिएका थिए।

राष्ट्रपति भण्डारीसँगै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीलगायतले पनि रानीपोखरीलगायतका सम्पदाको अवलोकन गरेका थिए।
प्रकाशन मिति–२०७६ साल माघ २५ गते शनिवार ।