–श्याम स्मृत । निशान बुढाथोकी
मध्यपुर थिमि (भक्तपुर) । मध्यपुर थिमि नगरपालिकाका हसमुख मेयर मदनसुन्दर श्रेष्ठको हसिलो मुहार जस्तै मध्यपुर थिमि नगरपालिका हाँस्न थालेको छ । हसमुख मेयर श्रेष्ठकै उज्यालो मुहारसंगै कला–संस्कृतिको अनुपम अब्बल नगरपालिकाको रुपमा मध्यपुर थिमि नगरपालिका विकासको गजबको उज्यालोमा पुगिसकेको छ।

जताततै उज्यालो छर्न सफल उज्यालो मुहारका मेयर मदनसुन्दर श्रेष्ठलाई तिखा काँडा वीचमा गुलाफ हांसेजस्तै हांस्न सफल मेयरका रुपमा लिइन्छ । मध्यपुर थिमि नगरपालिकामा नौवटा वडाहरुमा विभाजित रहेको छ। ती वडाहरुमा ६ वटा वडामा नेपाली कांग्रेसको अग्रता रहेको छ । एकमा नेपाल मजदुर किसान पार्टी र अर्को एकमा स्वतन्त्रको नेतृत्व छ । वाँकी एक वडामा मात्र मेयर मदनसुन्दर श्रेष्ठको सूर्य चिन्हवाहक नेकपा एमालेको नेतृत्व रहेको छ।

चारैतिर घेरावन्दीमा रहेका मेयर मदनसुन्दर श्रेष्ठ नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीको गढ मानिएको मध्यपुर थिमि नगरपालिकामा लोकप्रिय मत पाएर भारी मतले विजयी हुनु चानचुने कुरा अवश्य होइन । नेकपा एमालेलाई मध्यपुर थिमि नगरपालिकामा सर्वप्रिय वनाउने काममा स्कुले विद्यार्थी जीवनदेखि लागिपरेका मेयर श्रेष्ठले नपत्याउंदो तरीकाले अघिल्लो स्थानीय निर्वाचनमा लोकप्रिय मत पाउनु भनेको त्यसको परिणाम हो ।

नगरसभामा आफ्नो पार्टीको बहुमत नभएतापनि सवैको मन बुझ्ने गरेर काम बुझाउन सक्नु नै मेयर श्रेष्ठको सफलताको रहस्य हो । अर्कोतर्फ, निर्वाचनको बेला घोषणा पत्रमा प्रतिबद्धता गरेको काम गरेर देखाएकै कारण मेयर श्रेष्ठ हाम्राभन्दा राम्रा मेयर बन्न सफल भएको हो । अत्यन्त अध्यनशील तथा अनुसन्धानमा ज्यादै खुबी भएको कारण हरेक कार्यमा निपुण मेयरका रुपमा मदनसुन्दर श्रेष्ठलाई लिइने गरेको छ ।

पेशाले सिभिल इञ्जिनियर भएतापनि पढाईमा बीएड गरेर शंखधर हाइस्कुलका फाउण्डर प्रिन्सिपल वनेर अध्यापनको अनुभव वोकेका छन्। त्यस्तै, कानूनमा बीएल गरेर कानूनका हर दफा थाहा पाएका मेयर श्रेष्ठले व्यवस्थापन अर्थात म्यानेजमेन्ट विषयमा एमबीएसम्मको अध्ययन पूरा गरेर हर म्यानेजमेन्टमा कुशल म्यानेजमेन्ट गर्न सफल मेयरका रुपमा मानिन्छ ।

राजनीति गर्नेहरुको अध्ययन हुंदैन भन्नेहरुलाई मेयर मदनसुन्दर श्रेष्ठ चोटिलो जवाफ बनेको छ । विभिन्न विषयमा ग्राजुऐट भएर राजनीतिमा होम्मिएका मेयर श्रेष्ठको सोच र खोजमा राजनीति पेशा होइन, यो त केवल जनताको सेवा मात्र हो । पेशाका लागि त मेयर श्रेष्ठका सिभिल इञ्जिनियरिङ, कानून व्यवसाय, विद्यालय व्यवस्थापन लगायतका धेरै बाटाहरु छन् । तर, राजनीति जनताको प्रत्यक्ष सेवा गर्ने माध्यम भएका कारण राजनीतिलाई रोजेका हुन ।

नेपालमा राजनीति गर्ने नेताहरुले राजनीतिलाई पेशा नै बनाएको कारण नेपाली राजनीति सधै बदनाम हुने गरेको छ। राजनीति कुनैपनि हालतमा पेशा अर्थात व्यवसाय होइन। राजनीतिलाई पेशा तथा व्यवसाय बनाएपछि निश्चित रुपमा त्यो राजनीति नभइकन व्यापार हुन्छ। राजनीतिलाई पेशा बनाउने हो भने त्यो राजनीति भन्न नमिल्ने ठहर तथा जिकिर मेयर श्रेष्ठको रहेको छ ।

राजनीति नितान्त समाज सेवा भएको दावी मेयर श्रेष्ठको रहेको छ । नेपाली जनताको नाममा राजनीति गर्ने अनि नेपाली जनता माथि नै राज गरेर राजनीति गर्ने हो भने, त्यो निश्चित रुपमा नेपाली जनताप्रति गरेको कुठाराघात तथा अन्याय हो र पाप नै हो भनेर मेयर श्रेष्ठले भनेका छन्।

समाजलाई म जसरी भएपनि परिवर्तन गर्छु भनेर लाग्नेहरुले कहिले पनि आफूपनि बदल्नु पर्छ भन्ने सोचाई नै राख्ने गरेको पाइदैन। उनीहरु केवल समाज बदल्नु पर्दछ भनेर लागेको पाइन्छ। फोहर भएको स्थानमा आफैले फोहर सफा गर्नुपर्छ भनेर भन्दैनन्। अरुलाई खाली सफा गर्नुपर्छ भनेर मात्र भन्दै हिंड्ने गर्छ। जसवाट समाज बदलिदैन्। समाज बदलिन आफै फोहरमा पसेर फोहर सफा गर्नुपर्छ र आफूमा लागेको फोहर पनि पखाल्नु पर्छ। तब मात्र आफूपनि बदलिन्छ र समाज पनि बदलिन्छ भन्ने अवधारणा पनि मेयर श्रेष्ठको रहेको छ।

अनुुहारमा लागेको धुलो ऐना पुछेर हुदैन। अनुहार नै पुछेपछि मात्र पो अनुहारको मयल अर्थात धुलो हटेर अनुहार सफा हुने गर्दछ। ऐना मात्र पुछेर आफ्नो अनुहारमा लागेको धुलो पुछिन्छ भन्नु नितान्त गलत कुरा हो। यसतर्फ सचेत हुन पनि मेयर श्रेष्ठले सवैलाई आव्हान गरेका छन्।

हरेक मानिसमा सोच परिवर्तन हुन सकेको पाइदैन। पुरानै सोच र पुरानै ढर्रामा बाँचेको समाजमा नयाँ सोचले स्थान पाउन कठिनता हुने गर्दछ। यद्यपि, नयाँ सोच ल्याउने कोशिश मात्र गरेतापनि समाजलाई अग्रता दिन सकिने अवधारणा मेयर श्रेष्ठको रहेको छ। मेयर मदनसुन्दर श्रेष्ठ हरेक मानिसमा नयाँ सोच आउन आवश्यक छ भन्छन्।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल पुस २२ गते विहीवार ।