काठमाडौं। लामो समय देखि सडकमा कालोपत्र नहुदा नेपालको राजधानी काठमाडौंमा नै निक्कै समस्या भैरहेको छ। विशेषत राजधानीको चावहिल देखि बौद्ध–जोरपाटी तथा गोकर्ण, आलापोट भद्रबास र साँखु सडक खण्डका स्थानीय वासिन्दा तथा त्यो सडकमार्ग प्रयोग गर्नेहरु सवैलाई अत्यन्त समस्या हुंदैआएको बर्षौ बर्ष भैसकेको छ।

त्यसको निराकरण गर्न सरकार लाचार जस्तो देखिरहेको छ। सडकमा यो गर्मीमा हिंडडुल गर्न तथा मोटरसाइकल लगायतका सवारीमा सवार भएर यात्रा गर्दा खाल्डाखुल्डी अनि मुस्लोसरी धुलोले सडक नै देखिदैन। ती सडकमार्गमा यात्रा गर्ने यात्रीहरुको हरिविजोग नै हुने गरेको छ। कालो लुगा लगाएर जादा पूरै धुलोले सेताम्ये हुने अत्याचारको धुलाम्ये सडक भैरहदा पनि सरोकारवालाहरु कानमा तेल लाएर बसिरहेको अवस्थामा बौद्ध क्षेत्रका सडक पीडित संघर्ष समितिले विहीवार चाँडो भन्दा चाँडो सडकमा कालोपत्रे गरेर धुलाम्ये सडकलाई सफा तथा सुन्दर बनाउन व्यापक प्रदर्शन नै गरे।

प्रदर्शनका क्रममा सडक नै अवरुद्ध गरेर सडकमा टायर बालेर आन्दोलन गरेपछि प्रहरी र संघर्षवालाहरु वीच झडप नै भयो। प्रहरी र संघर्षवाला वीच मुठभेड जस्तो नै बन्यो। एककिसिमले चावहिल तथा बौद्ध क्षेत्र दिनभर जस्तो तनावग्रस्त बनेको थियो। संघर्ष पीडितहरुको माग अत्यन्त जायज नै हो। सरोकारवालाहरु त्यस क्षेत्रमा बर्षौ बर्ष भैसक्दापनि कालोपत्र गर्न आलटाल गर्ने र गराउने कार्यमा क्रियाशील बन्नु तथा सरकार मुकदर्शक बनेर बेवास्ता गर्दा सवै वाक्क दिक्क भैसकेको अवस्था रहेको छ।

यही वाक्क दिक्क अवस्थावाट माथि उठेर कालोपत्र छिटो भन्दा छिटो गर भनेर आन्दोलन नै गर्नुपर्ने वाँध्यतालाई सरकारले सम्वोधन हुनु आवश्यक छ। नेपाली जनताको सरकारले धुलाम्ये सडकलाई काठमाडौं लगायत सवैतिर कालोपत्र गर्न कडा निर्देशन जारी गर्नु अत्यन्त आवश्यक छ। सडक धुलाम्ये हुंदा स्थानीय तथा सडकयात्रीहरुको जनस्वास्थ्य र व्यापार व्यवसायमा गंभीर असर पुगेको छ। त्यसतर्फ ध्यान दिनु अत्यन्त आवश्यक छ।
प्रकाशन मिति–२०७६ साल बैशाख २६ गते विहीवार ।