Narayangad-Mugling Road Bus Accident 1काठमाडौ। चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको चन्डी भञ्ज्याङ्ग गाविस स्थित कालीखोलामा विहानै शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या २२ पुगेको छ। गौरबाट पोखराका लागि छुटेको ग१ख ३७०९ नम्बरको यात्रुबस दुर्घटना हुँदा २१ जनाको घटनास्थलमै र अर्का एकजनाको भरतपुरमा उपचारकाक्रममा मृत्यु भएको छ।

मृतकमध्ये १९ पुरुष र तीन महिला रहेका छन्।सनाखत हुनेहरुमध्ये रौतहट–महमदपुरका प्रमोद राम, रौतहट–लौकाहाका राकेश यादव, रौतहट–कटारीयाका ब्रजकिशोर कुसवाहा, रौतहट–बसन्तपुरका गणेशकुमार साह रहेका छन्। रौतहट–मधुवल्लाका चितरञ्जन यादव, सोही ठाउँका राजेशकुमार यादव र ठेगाना नखुलेका जोकु साह, रौतहट–इनरुवाका जोगेन्द्र गिरी, भारत–बिहारका फेकन ठाकुर, सोही ठाउँका शंकर ठाकुर, भारत–मोतिहारीका रामसागर भगत, सोही ठाउँकी नथुनी चौधरी, रौतहट–राजपुरका कामेश्वरप्रसाद साह, पोखरा–झल्लीडाँडाका चित्रबहादुर बोहरा, रौतहट–गरुडाका शेष सहजित आलम, रौतहट–लोकाहाका सचिन्द्रप्रसाद यादव, गौर–१३ सिर्सियाकी सन्ध्या श्रीवास्तव र बसचालक लेखनाथ–११ कास्कीका लोकबहादुर पौडेलको सनाखत भएको छ।

अझै चारजनाको सनाखत हुन बाँकी छ। दुर्घटनामा अरु १६ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ। घाइते यात्रुको अवस्था पनि गम्भीर रहेको छ। घाइतेको उद्धारपछि उपचारका लागि चितवनको भरतपुर लगिएको प्रहरीले जनाएको छ। बस सडकदेखि झन्डै सय मिटर तल त्रिशूली नदीमा खसेको थियो। शुक्रबार बिहान ४ बजे गस्तीमा निस्केकाबेला नदीमा बस तैरिरहेको देखेपछि प्रहरीले उद्धार थालेको थियो। उद्धारमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली जुटेका थिए।
प्रकाशन मिति–२०७३ साल भदौ १० गते शुक्रबार ।