Chitwan Map

काठमाडौ। चितवनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अपहरणमा परेको छ। चितवनको राप्ती नगरपालिका वडा नं ९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाई शनिबार राति अज्ञात समूहले अपहरण गरेको राससको समाचारमा उल्लेख रहेको छ।

समाचार अनुसार, नेकपा माओवादी केन्द्रले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको दाबी गरेको छ । माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीले अपहरण गरेको पुष्टि भएको बताए।

७० वर्षीय रिमाललाई उम्मेदवारी नदिन भन्दाभन्दै उम्मेदवारी दिएको भन्दै सो पार्टीले अपहरण गरेको परिवारलाई उद्धृत गर्दै भट्टराईले बताए । यता नेपाल प्रहरीले भने सो पार्टीले अपहरण गरे–नगरेको पुष्टि भइनसकेको जनाएको छ ।

प्रहरी उपरीक्षक दिपक थापाले खोजी र अनुसन्धान भइरहेकाले सोही पार्टीले अपहरण गरेको वा नगरेको यकिन हुन नसकेको बताए। यता शनिबार राति माओवादी केन्द्रका विरुद्धमा पर्चा छरेको भन्दै भरतपुर महानगरपालिकाको नेकपा एमालेका वडा नं ६ का वडाध्यक्षका उम्मेदवार खिलाप्रसाद न्यौपानेसहित ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी उपरीक्षक थापाका अनुसार जनताको २४ यक्ष प्रश्न माओवादी केन्द्रलाई भन्ने पर्चा छर्दै गरेको अवस्थामा उनीहरुलाई भरतपुर महानगरपालिकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।
प्रकाशन मिति–२०७४ साल बैशाख ३१ गते आइतवार ।