काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाको भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत शान्ति प्रावि केन्द्रबाट आफ्नो लागि आफैवाट मतदान गरेका छन्। बिहान ७ बजेर १३ मिनेट जाँदा प्रचण्डले मतदान गरेको हो। चितवन क्षेत्र नं ३ मा अध्यक्ष दाहाल वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार रहेका छन्।

मतदानपछि सञ्चारकर्मीलार्ई संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले गठबन्धनअनुसार नै आफूले मतदान गरेको बताएका छन्। दाहाल पत्नी सीता दाहाल र कान्छी छोरी गंगा दाहालले पनि सोही केन्द्रबाट मतदान गरेका छन्भने माइली छोरी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले निमावि सुन्दरबस्ती मतदान केन्द्रबाट मतदान गरेकी छन्।

यसैगरी भरतपुर महानगरको वडा नं २७ जानकी मावि केन्द्रबाट राप्रपा (प्रजातान्त्रिक) का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले मतदान गरेका छन् । पाण्डेले मतदान गरेको चितवन क्षेत्र नं ३ बाट पाण्डे लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार रहेका छन्।
प्रकाशन मिति–२०७४ साल मंसीर २१ गते विहीवार ।