काठमाडौं। चीन सरकारले सोमबार काठमाडौंमा चिनियाँ नागरिकहरु पक्राउ गरिएको घटनालाई ‘दुई देशका प्रहरीको महत्वपूर्ण कारबाही’भनेको छ।

मंगलबार चीनको पेइचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयका प्रवक्ता कङ सुआङले सीमापार साइबर अपराधमा संलग्न रहेका चिनियाँहरुविरुद्ध नेपाल र चिनियाँ प्रहरीले संयुक्त कारबाही चलाएर पक्राउ गरिएको बताएका हुन्।

उनले आफूसँग रहेको सूचनाअनुसार पक्राउ गरिएका चिनियाँहरु सीमापार साइबर अपराधका शंकास्पद व्यक्तिहरु रहेको र त्यस सम्बन्धमा अनुसन्धान भइरहेको उल्लेख गरेका छन्। प्रवक्ता कङले चीनले सीमापार अपराध नियन्त्रण सँगसँगै धेरै क्षेत्रमा सहकार्य गरेर दुई देश अगाडि बढ्ने बताएका छन्।

यता नेपालमा सोमवार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएका १ सय २२ चिनियाँ नागरिकहरूलाई नेपालमै थप अनुसन्धान गरिने प्रहरी अधिकारीहरूले बताएका छन्। उनीहरूलाई मङ्गलवार नै अदालतबाट म्याद थपे गरेर हिरासतमै राखेर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई काठमाडौंका विभिन्न प्रहरी कार्यालयमा राखिएको छ।

पक्राउ पर्नेहरूमा आठ जना महिला छन्। उनीहरू साइबर अपराध, अवैध हुन्डी, सम्पत्ति शुद्धिकरण, सट्टेबाजी र जुवाजस्ता काममा संलग्न भएको हुन सक्ने आशङ्का प्रहरीको छ।
प्रकाशन मिति–२०७६ साल पुस ८ गते मंगलवार ।