काठमाडौं। चीनका राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसंग सल्लाह–सुझाव गर्ने कार्य गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले सल्लाह तथा सुझाव लिने कार्य भएको हो।

त्यसअवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक साझेदारीका विषयमा छलफल गरिने जनाएका छन्। चिनियाँ राष्ट्रपति सीको यही असोज २५ र २६ गते नेपालमा राजकीय भ्रमण हुँदैछ।

प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीनसँग आर्थिक साझेदारीका विषयमा छलफल हुने बताउँदै केरुङ–काठमाडौं रेलमार्ग निर्माणको लगानीको ढाँचाबारेमासमेत छलफल गरिने उल्लेख गरे।

छलफलमा पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल र डा.बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी थिए। चारघण्टा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रकाशन मिति–२०७६ साल असोज २३ गते विहीवार ।