काठमाडौं। नेपालमा चीनका राष्ट्रपति सी चिनफिङको दुईदिवसीय राजकीय भ्रमणको सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाउनुको अलावा रातारात काठमाडौंलाई सिंगारिने कार्य भएको छ। राष्ट्रपति सीको नेपाल भ्रमण असोज २५ गते शनिवार हुने भएको छ।

अतिविशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७० अनुसार चारओटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको हो। आवश्यक तयारीको सिलसिलामा दैनिक सुरक्षा समन्वयात्मक छलफल चलिरहेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति कार्यालयसम्म र बस्ने होटलसम्मको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको भनाई छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीले यही असोज २५ र २६ गते नेपालको दुईदिवसीय राजकीय भ्रमण कार्यक्रम रहेको छ। उनको सुरक्षामा काठमाडौंको जिल्ला सुरक्षा समितिको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना सहभागी सुरक्षा समन्वय समितिले आन्तरिक सुरक्षाको जिम्मा लिएको छ।

नेपाली सेनाका बलाधिकृत रथीको नेतृत्वमा समिति बनाएर सुरक्षाको प्रबन्ध मिलाइएको छ। भ्रमणकाक्रममा चिनियाँ राष्ट्रपति सीसहितका विशिष्ट पाहुनाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमन्डलस्तरमा औपचारिक वार्ता गर्नेछन् ।

२३ वर्षपछि हुन लागेको भ्रमणले आपसी मित्रता र सहकार्य थप अभिवृद्धि हुने विश्वास गरिएको छ । महत्वपूर्ण विषयमा सम्झौतासमेत हुने जनाइएको छ। राष्ट्रपति सी सवार हुने सडकहरु नयाँ कालोपत्रसहित चिल्लो बनाइएको तथा ठाउँठाउँमा नेपालको प्राकृतिक सुन्दरता झल्कने तस्वीर र ब्यानर राखिएको छ। विभिन्न स्थानमा विश्वसम्पदा सूचीमा सूचीकृत र नेपालका मौलिक संस्कृति झल्कने तस्वीरसहितको ‘फ्लेक्स’ बनाएर राखिएको छ।

राष्ट्रपति सीलाई नागरिकस्तरबाटसमेत भव्य स्वागतको तयारी पनि रहेको छ। त्यसैगरेर, राष्ट्रपति सीको नेपाल भ्रमणको अवसरमा आइतवार नेपाल सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ।
प्रकाशन मिति–२०७६ साल असोज २४ गते शुक्रवार ।