काठमाडौं। चीनका राष्ट्रपति सी चिनफिङ दुईदिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका छन्। नेपालको समय अनुसार अपरान्ह ४ बजेर ४५ मिनेट जाँदा चीनिया राष्ट्रपति सी चिनफिङको काठमाडौं स्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आगमन भएका हुन्।

चीनिया राष्ट्रपतिलाई नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् । भारतको चेन्नाइबाट आज शनिवार दिउँसो करिव १ बजेर ५० मिनेटमा उडेका चीनिया राष्ट्रपति सी त्रिभुवन विमानस्थलमा ४ बजेर ४५ मिनेटको समयमा ओर्लिएका थिए।

दुई दिने राजकीय भ्रमणमा नेपाल आएका राष्ट्रपति सीलाई समकक्षी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार ५ बजेर १२ मिनेटमा स्वागत गरेकी हुन्। राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट पदाधिकारीहरुले सीलाई विमानस्थलमै स्वागत गरेका थिए। सी विमानस्थलबाट सोल्टी होटल गएका छन्।

चीनिया राष्ट्रपतिको नेपाल आगमनसंगै काठमाडौंमा सुरक्षा अवस्था अत्यन्त कडा गरिएको छ। मुख्य सडकहरुमा सवारी आगमन रोक गरिएको छ। चक्रपथपारि नै मालवाहक सवारीलाई रोक गरेको छ।
प्रकाशन मिति–२०७६ साल असोज २५ गते शनिवार ।