काठमाडौं । नेपालको दुईदिने भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । शनिबार अपराह्न ४ः४५ बजे काठमाडौं ओर्लिएका सी आइतबार दिउँसो सवा २ बजेपछि स्वदेश फर्किएका हुन् ।

राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गरिन् । शनिबार राष्ट्रपति भण्डारीले नै समकक्षी सीलाई स्वागत गरेकी थिइन् ।
सीको विदाई समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत पनि उपस्थित थिए।

स्वागतको बेलामा जस्तै विदाइको बेलामा पनि कलाकारहरुले साँस्कृतिक झाँकी प्रदर्शन गरे भने नेपाली सेनाको टोलीले सलामी अर्पण गर्‍यो । विमानस्थल परिसरमा नेपाली विद्यार्थी तथा कलाकारहरुले नेपाल र चीनको झण्डा फहराउँदै सीसहितको चिनियाँ टोलीलाई विदाई गरेका थिए।
प्रकाशन मिति–२०७६ साल असोज २६ गते आइतवार ।