काठमाडौं। नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी जिनपिङ दुईदिने राजकीय भ्रमणमा भोलि शनिबार नेपाल आउँदैछन्। राष्ट्रपति सी जिनपिङ शनिबार अपराह्न ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने समाचार स्रोतको दावी रहेको छ।

यसका निम्ति विमानस्थल साढे २ घण्टा बन्द गरिने विमानस्थल कार्यालयले जनाइसकेको छ। शनिबार दिउँसो २ः५५ देखि ५ः२५ सम्मका लागि सबै व्यावसायिक उडान स्थगन गर्न आदेश दिइसकिएको छ।२३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखबाट हुन लागेको यस भ्रमणलाई नेपालले निकै महत्व दिएको छ। यसअघि, सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेलगत्तै राष्ट्रपति सीले नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग शीतलनिवासमा साँझ ६ः३० बजे भेटवार्ता गर्ने तय गरिएको छ। यसपछि साँझ ७ः१५ मा सीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको देउवानिकट कांग्रेस नेताको भनाई छ। साँझ ७ः३० बजे राष्ट्रपति सी उनको सम्मानमा राष्ट्रपति भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन्। योसँगै शनिबारको कार्यक्रम सकिनेछ।

आइतबार बिहान १०ः३० बजे सीले सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नेछन्। बिहान ११ः३० मा भने प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता र द्विपक्षीय सम्झौता हुनेछ। दुई देशबीच हुने औपचारिक वार्तामा पर्यटन, प्रविधि, कृषि र बीआरआईलगायत विषय समेटिनेछन्।

औपचारिक वार्तालगत्तै द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुने बताइएको छ। आइतबारै दिउँसो १ बजे सीको चीन फर्किने कार्यक्रम छ । सीको नेपाल भ्रमण १९ घण्टा मात्र हुने जनाएको छ। आइतबार पनि बिहान ११ः२० देखि १ः५० सम्म विमानस्थल बन्द हुने विमानस्थल कार्यालयले जनाएको छ । उक्त अवधिमा काठमाडौं विमानस्थलमा कुनैपनि उडान हुने छैनन् ।
प्रकाशन मिति–२०७६ साल असोज २४ गते शुक्रवार ।