काठमाडौं। चीनमा इसाईहरुको महान पर्व क्रिसमस मनाउन रोक लगाएको छ। विशेष गरेर चीनका चारवटा शहर र एक काउन्टीमा क्रिसमस मनाउन रोक लगाएको हो।

विश्वव्यापी समाचार संस्था एपीका अनुसार क्रिसमसको मुखैमा चीनका अधिकारीहरुले सर्वसाधारणलाई क्रिसमस नमनाउन र पसललाई क्रिसमस सम्बन्धि सामाग्री बिक्री वितरण नगर्न निर्देशन दिएका छन्। यसलाई चीनका राष्ट्रपति सी चीनफिङको धर्म र विदेशी संस्कृतिविरुद्ध लडाइ अभियानको रुपमा हेरिएको छ।

दक्षिण पश्चिमी शहर नान्याङ र राजधानी बेइजिङ नजिकैको करिब ४० लाख जनसंख्या भएको शहर लाङफाङमा क्रिसमसका सामान बेच्ने पसलहरुबाट सामान हटाउन लगाइएको छ। लाङफाङमा क्रिसमसको तयारीमा गरिएका सजावट र गरिएको रंगरोगन समेत हटाउन लगाइएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।

हुनान प्रान्तका केही अन्डरग्राउन्ड चर्च बन्द गरिएको र विश्वविद्यालयका विद्यार्थीलाई क्रिसमस नमाउने कोड अफ कन्डक्टमा हस्ताक्षर गर्न लगाइएको पनि समाचारमा जनाइएको छ। युनान प्रान्तको कुन्मिङ, क्वान्चाउ तथा हिवेइ प्रान्तको फुपिङ काउन्टीमा पनि यस्तै खाले प्रतिबन्धहरु लगाइएका छन्।

संसारकै सबभन्दा धेरै जनसंख्या भएको चीनमा क्रिश्चियन धर्म मान्नेको संख्या खासै ठूलो छैन्। धेरै एशियन मुलुकहरुमा जस्तै यहाँ पनि क्रिसमसको छुट्टी हुँदैन। तर, क्रिसमसको समयमा रमाइलो गर्ने, सांस्कृतिक पर्वका रुपमा यसलाई मनाउने युवाको संख्या ठूलो छ।
प्रकाशन मिति–२०७६ साल पुस ८ गते मंगलवार ।