काठमाडौं। चीनमा बलिउडका हिन्दी फिल्महरुलाई केही बर्षयता व्यापक रुचाइन थालिएको छ। यसैक्रममा बलिउडमा व्यावसायिक सफलता पाएको हिन्दी फिल्म ‘अन्धाधुन’ले चिनियाँ दर्शकको मन जित्न सफलता प्राप्त गरेको छ।

श्रीराम राघवनको निर्देशनमा आयुष्मान खुराना, तब्बु लगायतले अभिनित फिल्म ‘अन्धाधुन’ दुई साताअघि चीनमा रिलिज भएको थियो। यसअघि चीनमा आमिर खानका केही छानिएका फिल्मलाई मात्रै चिनियाँ दर्शकले निक्कै रुचाएकोमा आयुष्मान खुरानाको फिल्मले पाएको यो सफलतालाई भारतीय मिडियाले समेत ‘अप्रत्याशित’ भनी टिप्पणी गरेको  छ।

फिल्ममा आयुष्मानले दृष्टिविहीन युवकको भूमिका निर्वाह गरेका छन् भने तब्बुले खलपात्रको भूमिका निर्वाह गरेकी छन् । फिल्मका लागि चीन हलिउडपछिको ठूलो बजार हो । चिनियाँ बक्सअफिसमा सर्वकालीन सर्वाधिक कमाइ गर्ने दश फिल्ममध्ये दुई हलिउड ‘द फेट अफ द फ्युरिअस’ र ‘फ्युरिअस सेभेन’ पनि परेकाछन् । आमिर खान स्टारर ‘दंगल’ चिनियाँ बक्सअफिसमा सर्वाधिक कमाइ गर्ने फिल्मको ३६ औं स्थानमा छ ।

त्यसभन्दा अघि हलिउड फिल्म ‘अवतार’ छ । चीनमा आमिरकै ‘सेक्रेट सुपरस्टार’ देखि ‘हिन्दी मिडियम’, ‘बाहुबली २’, ‘बजरंगी भाइजान’, ‘टाइलेट एक प्रेमकथा’ ले पनि उल्लेख्य दर्शक साथ पाएका थिए । यस फिल्मले भारतीय बक्सअफिसबाट मात्रै ९१ करोड भारु कलेक्सन गरेको थियो । उक्त रकम फिल्मको बजेटभन्दा ६० करोड बढी हो।
प्रकाशन मिति–२०७६ साल बैशाख ८ गते आइतवार ।