काठमाडौं। चीनको वुहानवाट नेपाल ल्याइएका १ सय ७५ जनामा कोरोना भाइरसको संक्रमन नभएको पुष्टि भएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त पुष्टि गरेको हो। मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी गएको आइतबार नेपाल ल्याइएका १ सय ७५ जनामा पहिलोपटक गरिएको परीक्षणमा कोरोना भाइरस नरहेको पुष्टि भएको जनाएको हो।

भक्तपुरको खरिपाटीमा ‘क्वारेन्टाइन’मा राखिएका उनीहरुको फागुन ४, ५ र ६ गते घाँटी र नाकभित्रको स्वाबको नमुना संकलन गरी परीक्षण गरिएको थियो। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कसैमा पनि कोरोनाभाइरसको संक्रमण नभेटिएको मन्त्रालयका सचिव खगराज बरालको भनाइ रहेको छ। क्वारेन्टाइनमा रहेको १४ दिनपछि पुनः प्रत्येक व्यक्तिको नाक र घाँटीभित्रको स्वाबको परीक्षण गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा.महेन्द्र श्रेष्ठले नेपाल ल्याइएका कसैमा पनि कोरोनाभाइरसको संक्रमण नदेखिँदैमा नेपाल कोरोनामुक्त छ भन्न नमिल्ने बताएका छन्। अन्य देशमा पनि रोगको संक्रमण देखिएकाले नेपाल अझै जोखिममा नै रहेको उनले बताए।
प्रकाशन मिति–२०७६ साल फागुन ७ गते बुधवार ।