काठमाडौं। दिनप्रति दिन सूर्तिजन्य पदार्थ सेवन गर्नेहरुको संख्या बढ्दो क्रममा रहेपनि सरकारले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न भने सकेको छैन् । सूर्तिजन्य पदार्थ नियमनसम्बन्धी ऐन, कानुन बनेपनि कार्यान्वयनमा आउन नसक्नु दुःखद कुरा हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सूर्तिजन्य पदार्थ सेवन गर्नेको संख्या घटाउन सबैको पहल आवश्यक रहेको बताउंछन्। ‘सूर्तिजन्य पदार्थको सेवनबाट वार्षिकरुपमा ठूलो संख्यामा मानिसको मृत्यु भएको जान्दाजान्दै पनि मानिसहरु यसको कुलतबाट बाहिर निस्कन सकिरहेका छैनन्। अब चिकित्सक तथा स्वास्थ्यकर्मीले कुनै डर सिर्जना गरेर भएपनि यसको सेवनलाई निरुत्साहित गर्नुपर्ने देखिन्छ। सूर्तीजन्य पदार्थको नियन्त्रणका लागि बनेका ऐनलाई प्रभावकारी कार्यन्वयन गर्न जरुरी छ।’ मन्त्री खतिवडाको भनाई छ।

शहिद गङ्गालाल हृदय केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले सूर्तीजन्य पदार्थको सेवन गरेकाहरुमा हृदयघातको जोखिम रहने बताए। उनका अनुसार विगत १० वर्षमा हृदयघात हुने सङ्ख्या ४६ प्रतिशतले बढेको उल्लेख गर्दै हृदयघात हुने सबैभन्दा बढी सूर्तीजन्य पदार्थको सेवन गरेको युवा रहेको जानकारी दिए।
सबैभन्दा बढी हृदयघाट चुरोट सेवनबाट हुने गरेको डा.अधिकारी बताउँछन्।

अन्नपूर्ण पोष्ट दैनिकसंग कुरा गर्दै डा.अधिकारीले भने, ‘चुरोटको सेवनमा युवा मात्र नभई युवतीहरु पनि निकै अघि रहेको देखिन्छ। चुरोटको सेवन गर्ने महिलामा पुरुषको तुलनामा झनै बढी जोखिम हुने भन्दै चुरोट सेवन गर्ने पुरुषमा हृदयघात हुने सम्भावना ८ गुणा बढी भएजस्तै महिलामा त्यो भन्दा धेरै १३ गुणा बढी हृदयघातको सम्भावना देखिन्छ।’


प्रकाशन मिति–२०७८ साल मंसीर ९ गते विहीवार ।