काठमाडौ। नेपालका आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्माको काठमाडौको बूढानिलकण्ठ स्थित घरमा मंगलबार दिउँसै तोडफोड भएको छ। प्रहरी मुख्यालयका प्रवक्ता डीएसपी मनोज न्यौपानेका अनुसार मंगलबार दिउँसो नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले घरमा तोडफोड गरेका हुन्।

तोडफोडले घरको तीनवटा झ्यालका सिसा फुटेको छ। प्रहरीले तोडफोडमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताको संलग्नता रहेको पुष्टि प्रहरीले गरेको छ। यअसघि भ्रष्टाचार गरेको अभियोगमा मुद्दा लागेपछि निलम्बित भएको अवस्थामा गत असोज महिनामा शर्माको घरमा बम विस्फोट भएको थियो। बूढानिलकण्ठमा रहेको शर्माको घरमा असोज १ गते राति अज्ञात समूहले विस्फोटक पदार्थ पड्काएको थियो।

विस्फोटबाट घरको गेटमा आगलागी भएको थियो। कर फछ्र्यौट गर्ने क्रममा भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माविरुद्ध विशेष अदालतमा १० अर्ब २ करोड बढी मुद्दा दायर गरेको थियो । हालसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचार मुद्दामा कर फर्छयोट आयोगका पूर्व सदस्य शर्मालाई विशेष अदालतले एक करोड धरौटीमा रिहा गरेको थियो।


प्रकाशन मिति–२०७४ साल माघ २३ गते मंगलवार ।