काठमाडौं। नेपाल सरकारले लकडाउनको अवधिलाई लक्षित गरी चैत महिनाको विद्युत महशुलमा २० प्रतिशत छुट दिने भएको छ।

यसअघि इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई दिने भनिएको छुट अब नेपाल विद्युत प्राधिकरणका सबै ३६ लाख ५० हजार ग्राहकले पाउनेछन्। नेपालका उर्जामन्त्री वर्षमान पुनले भोलि शुक्रबार प्राधिकरणको बोर्ड बैठक बसेर सबै ग्राहकलाई २० प्रतिशत महशुल छुट दिने निर्णय हुने बताएका छन्। यसो गर्दा करिव एक अर्ब रुपैयाँ राज्यको तर्फबाट जनताले छुट पाउने मन्त्री पुनले जानकारी दिएको अनलाइन खवरले लेखेको छ।

उर्जामन्त्री पुनले यो महिनाको विद्युत महशुल बुझाउन ढिला भए पनि जरिवाना नलाग्ने प्रष्ट पारे । मन्त्री पुनले विद्युत महशुल छुटमा घरधनी र डेरावाल सबै बराबरी हकदार हुने भन्दै कुनै घरधनीले डेरामा बस्नेसँग पहिलेकै दरमा महशुल उठाएमा सरकारले कारवाही गर्ने बताएका छन्।

लकडाउनको अवधि तीनसाता जाने सम्भावना देखिएकाले कम्तिमा एक महिनाको महशुल मिनाहा गर्न जनस्तरबाट दबाव आइरहेका बेला मन्त्री पुनले त्यसबारे अहिले नै निर्णय नभएको भनेका छन्। यद्यपि परिस्थिति हेरेर जनतालाई अधिकतम राहत दिन सरकारले लकडाउन अवधिभरको विद्युत महशुल मिनाह गर्न सक्ने व्यापक संभावना रहेको मन्त्री पुन बताउछन्।
प्रकाशन मिति–२०७६ साल चैत १३ गते विहीवार ।