काठमाडौं। नेपालको तराई क्षेत्रमा मनाइने महान पर्व छठको आज मूख्य दिन परेको छ। पारिवारिक सुख शान्ति तथा समृद्धिको कामना गर्दै सूर्यदेवको पूजा आराधना गरी मनाईने छठ पर्वको आज आइतबार मूख्य दिन हो।

मिथिलाञ्चलमा विशेष गरी मनाईने यो पर्व हिजोआज काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा समेत उत्साह तथा उमंगका साथ मनाउने कार्य हुदैआएको छ। आज आइतबार अपरान्ह अस्ताउँदो सूर्यलाई अर्घ चढाएर रातभर जाग्राम बस्ने र भोलि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि ब्रत समापन हुने गर्दछ।
यो पर्व मनाउन नदी किनार तथा तलाउहरु सजाएर झकिझकाउ बनाइएको छ।

नेपालीहरुको दुई महान पर्व दशैं र तिहारलगत्तै आउने यो पर्वमा कात्तिक शुक्ल पक्ष षष्ठीको छठी माईको पूजाअर्चना गरी परिवारको सुख–शान्तिको कामना गरिन्छ। पञ्चमी (खर्ना) देखि पूर्णिमासम्म चेलीबेटीले रातमा सामाचकेवा लोकगीत गाएर यो पर्वको थालनी हुन्छ।

यस पर्वको अवसरमा पञ्चमी दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई गहुँको सादा पुरी प्रसादका रूपमा खाने, खुवाउने चलन छ। परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा महिला बसी छठको लोकगीत गाउने गरिन्छ।

भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ। पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ।

अग्नि पुराणमा छठी व्रतको प्रसङ्ग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेका बेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको वर्णन धार्मिक ग्रन्थमा पाइन्छ। त्रेता युगमा लंकाबाट श्रीराम तथा सीता माता फर्किंदा सीता माताले गंगा नदीको किनारमा छठ व्रत गरेको उल्लेख रहेको छ।

छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ । विशेषगरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ। यो ब्रत गर्नाले चर्मरोग छिटो निको हुने विश्वास गरिन्छ।

प्रकाशन मिति–२०७९ साल कात्तिक १३ गते आइतवार ।