काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर १७ क्षेत्रपाटी स्थित छत्रपाटी निःशुल्क चिकित्सालय स्थानीय सामुदायिक अस्पतालको रुपमा विकास भैसकेको छ। सहुलियत दरमा उपचार गर्न पाइने तथा गरीब तथा असहायको लागि निःशुल्क उपचार गर्दैआएको कारण छत्रपाटी निःशुल्क चिकित्सालयको महत्व अनि गरिमामा व्यापक बृद्धि हुंदैगएको छ।

जसको कारण सरकारी तथा नीजि अस्पतालमा भन्दा उपचार गर्न आउने विरामीहरुको व्यापक भीडभाड बढ्न थालेको पनि बर्षौ बर्ष भैसकेको छ। जसलाई व्यवस्थित गर्न र गराउन केही बर्षअगाडि देखि लाइन बसेर विरामी जाँच्नका लागि कुपन लिनुपर्ने व्यवस्था गरिएकोमा त्यो लाइन बस्नुपर्ने वाँध्यताको पनि अन्त्य भएको छ। अव विरामी जाँच्नका लागि छत्रपाटी निःशुल्क चिकित्सालयले टोकन सिस्टम लागु गरेको छ।

फागुन १९ गते बुधवारका दिनवाट बैंकहरुमा जस्तो विद्युतीय माध्यमवाट विद्युतीय मेशिनमा हातको औलाले थिचेर सहज रुपमा टोकन लिन मिल्ने प्रावधानको विकास गरेको जानकारी चिकित्सालयका अध्यक्ष डाक्टर मनोजमान श्रेष्ठले दिएका छन्। 

टोकन लिएर विरामी जाँच्ने प्रविधिको शुभारम्भ नेपालभाषाको अत्यन्त लोकप्रिय चलचित्र राजमतिकी नायिका राजमति हिसिला महर्जनले गरेकी छन्। हिसिलाले टोकन लिएर विरामी जाँच्न संवन्धित रोगको चिकित्सककोमा पुगेर चिकित्सालयको नयाँ प्रविधिको शुभारम्भ गरेकी हुन्।

अव उप्रान्त छत्रपाटी चिकित्सालयमा पहिलाजस्तो कुपन लिनका लागि घण्टौं लाइन बसेर कुपन लिने प्रथाको अन्त्य भएर नयाँ सहज प्रविधिको विकास भएको छ। जसवाट सर्वसाधारणहरुलाई अझ बढी सहज र सरल हुन पुगेको छ। टोकन सिस्टम भएयता आरामसंग बसेर टोकन नंबर अनुरुप विरामी जाँच्न पाइने नयाँ प्रविधिको विकास भएयता छत्रपाटी निःशुल्क चिकित्सालयमा आकर्षण अझ बृद्धि भएको छ।


प्रकाशन मिति–२०७७ साल फागुन १९ गते बुधवार ।