काठमाडौं। मानिसको शरीरभित्र कुनै पनि बाहिरी तत्व प्रवेश गर्दा त्यसविरुद्ध शरीरमा भएको प्रतिरक्षात्मक शक्तिले प्रतिक्रिया देखाउने गर्छ। यो प्रतिक्रियाको असर छालामा देखिएमा त्यसलाई एलर्जी भनिन्छ। यद्यपि, छालाबाहेकका अंगमा पनि एलर्जी हुने गर्दछ।

हिजोआज बढ्दो प्रदूषण र धुवाँधुलोका कारण हाम्रो शरीरमा नकारात्मक असर देखापरिरहेका छन्। प्रदूषणका कारण छालामा दाग आउने, डन्डिफोर तथा पिड्का आउनेजस्ता समस्या बढ्दै गएका छन् । यसलाई हामी छालाको एलर्जी भन्ने गर्छौं।

छालाको एलर्जीमा चिलाउने, रातो हुने, दाग देखिने, पानीका फोका आउने आदि हुन्छन् । साथै, छाला वा पाप्रा निस्केर जाने पनि हुन सक्छ। यसका कारण अनेकौँ स्वास्थ्यसमस्या आउने गर्छन्।
बदलिँदो मौसममा एलर्जिक राइनाइटिस (नाकको एलर्जी) एलर्जिक आस्थमा (श्वासको एलर्जी), स्किन एलर्जी तथा खाद्यपदार्थका एलर्जी हुने गर्छन् । कतिपय एलर्जी निकै घातक हुने गर्छन् ।

विशेषगरी बारुला, किरा, माकुरा, अरिंगालले टोक्दा पनि शरीर सुन्निने तथा चिलाउने हुन्छ । यसका कारण श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने वा पोल्ने समस्या देखापर्छन् ।

एलर्जीको मुख्य कारण
घरबाट बाहिर निस्किँदा धुलो, धुवाँ र वायुमण्डलमा फैलिएको प्रदूषण मानिसको नाकमा प्रवेश गर्छन्। त्यसैगरी, घरपरिवारमा पालिने जनावरहरू कुकुर, बिरालोबाट पनि एलर्जी हुने जोखिम बढी हुन्छ । यस्ता पाल्तु जनावरबाट भुत्ला, रौँ आदि झरिरहन्छन्। जुन एलर्जीको कारण बन्न सक्छ ।

एलर्जीका लक्षण
– शरीरमा डाबर आउनु वा चिलाउनु ।
– आँखा, नाक चिलाउनु ।
– हाच्छियूँ आउनु ।
– सुक्खा खोकी लाग्नु तर ज्वरो आएजस्तो नहुनु ।
– सामान्यतया नाक बन्द हुनु तर नाकबाट पानी नबग्नु ।
– बारम्बार रुघा लाग्नु ।

एलर्जीबाट छालालाई जोगाउने उपाय
– ओछ्यान तथा लगाउने कपडा सफा राख्ने ।
– घरबाट बाहिर निस्किँदा माक्स लगाउने ।
– कपालमा रङ नलगाउने ।
– जनावरसँग घेरै नजिक नहुने ।
– खानेकुरा वा प्रयोगमा आउने कुनै कुराको एलर्जी हुन्छ भने त्यसबाट सावधान रहने ।


(नामी साप्ताहिकको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल मंसीर ९ गते सोमवार ।