कलैया। कलैयाको प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गराउने अभिभावकलाई बार्षिक नगद १० हजार प्रदान गर्ने भएको छ। जन्म दर्ता गरेर प्रमाणपत्र लिए गाउँपालिकाले रु १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको हो।

गाउँपालिकाको सोमवारको गाउँसभाले यही साउनदेखि ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ र सुत्केरी महिलालाई भत्ता दिने कार्यक्रम लागु गर्ने अभियान अन्तर्गत नगद १० हजार प्रदान गर्ने निर्णय भएको बताइएको छ।

राससका अनुसार त्यसको अलावा गर्भवतीका हकमा दुई पोका नुुन र रु एक हजारका दरले मासिक भत्तासमेत दिने निर्णय गरेको छ। उमेर नपुगेका छोरीहरूलाई विवाह गर्ने चलनका कारण धेरैको अकालमै ज्यान जाने गरेको हुँदा अभिभावकलाई पनि गाउँपालिकाले कम्तीमा पनि २० वर्ष उमेर पुगेपछि विवाह गराउन सुझाव दिएको गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ताले जानकारी दिएका छन्। गाउँपालिकाको सो निर्णयलाई स्थानीयवासीले स्वागत गरेका छन् ।
प्रकाशन मिति–२०७५ साल असार २५ गते सोमवार ।