काठमाडौं। जनतासंग जनप्रतिनिधि यो अभियान गजब बन्दैगएको छ। काठमाडौं क्षेत्र नंबर ९ का जनतावाट निर्वाचित जनप्रतिनिधिहरु यतिखेर जनताका घरआँगनमा पुगेर जनतासंग साक्षात्कार गर्न पुगिरहेका छन्। आफ्ना क्षेत्रका जनताहरुका आवश्यकता र समस्याका वारेमा घरआंगनमा नै पुगेर राय तथा योजना संकलन गर्न जनप्रतिनिधिहरु पुगिरहेका छन्।

चुनावका बेला गरेका वाचाहरुलाई अक्षरस पालना गर्न काठमाडौं क्षेत्र नंबर ९ का जनप्रतिनिधिहरु जनताका घरआँगनमा पुगिरहेका हुन्। काठमाडौं क्षेत्र नंबर ९ वाट निर्वाचित जनप्रतिनिधि संघीय सांसद कृष्णगोपाल श्रेष्ठ तथा प्रदेश सांसद डाक्टर अजयक्रान्ति शाक्यलाई यतिखेर निक्कै चटारो भैरहेको छ। जनताका घरआँगन पुगेर जनताका पीर–मर्का तथा समस्यालाई आत्मसात गर्ने तथा ती समस्यालाई समाधान गर्ने कार्यमा आफूहरु लागिरहेको लोकप्रिय जनप्रतिनिधि डा.अजयक्रान्ति शाक्यले भिजन संसार डटकमलाई बताएका छन्।

दिनहुँ जस्तो जनताका घरआँगनमा पुगेर उनीहरुका समस्याको समाधान गर्न तथा उनीहरुसंग योजना संकलन गर्ने अभियानमा लागिरहेको जानकारी पनि प्रदेश सांसद डा.शाक्यले दिएका छन्। प्रदेश सांसद डा.शाक्य काठमाडौं क्षेत्र नंबर ९ को लगन देखि रविभवन, कलंकी, सुनार गाउं, मगर गाउं तथा खड्का गाउं लगायतका स्थानीय जनताहरु माझ अत्यन्त लोकप्रिय पाइएका छन्। जनतासंग मज्जाले भिजेका प्रदेश सांसद डा.शाक्य बौद्धिक बर्गको विव्दान तथा सहज अनि सरल व्यक्तित्व पनि भएको कारण आफूहरुलाई उहाँ समक्ष आफ्ना कुरा राख्न सहज भएको स्थानीय तारा कसजुको भनाई रहेको छ।

त्यस्तैगरेर, मोहना क्षेत्रीले पनि डा.शाक्यले आफूहरुसंग आफ्नो क्षेत्रको विकासका लागि विभिन्न योजनाको माग गर्नु भएको र ती योजनालाई कार्यन्वयन गर्न–गराउन अहोरात्र लाग्ने बचन दिएको पनि खुलासा गरेकी छन्। जनतासँग छलफल गरेर विकासका योजना बनाउँन हामी जनताको घर–दैलोमा जनता, जनप्रतिनिधि र विकास भन्ने नारासहित जनतासँग जनप्रतिनिधिको साक्षात्कार गर्ने र योजना संकलन गर्ने अभियानमा जुटेका यी जनप्रतिनिधिहरुलाई जनताले मज्जाले साथ दिएका छन्।

निर्वाचनको बेला मात्र भोट माग्न जनताका घरआँगन पुग्ने र अरुबेला नपुग्ने भन्ने जनताका गुनासा आम रुपमा आउने गरेका छन्। ती गुनासा विपरित जनताले चुनेका जनप्रतिनिधिहरु जनतालाई सहयोग गर्न अहोरात्र जनताकै घरआँगन पुग्नु निश्चित रुपमा अत्यन्त राम्रो कार्य हो। तीनै तहका सरकारले गर्ने काम एक–आपसमा नबाझिउन र तीनवटै सरकारले गर्ने कामको प्रभावकारिता देखाउन आफूहरुले यो अभियान शुरु गरेको जानकारी सांसद कृष्णगोपाल श्रेष्ठले भनेका छन्।

यो अभियानले जनतासँग गरेका प्रतिवद्धता पूरा गर्ने र जनताको इच्छा–आकाक्षांलाई बुझ्ने अवसर समेत आफूहरुलाई प्राप्त भएको दुवै जनप्रतिनिधिले बताएका छन्। प्रदेश सांसद डाक्टर अजयक्रान्ति शाक्यले यो अभियान सुरुवात मात्र भएको भन्दै यसले सिंहदरबारको अधिकार जनताको घर–घरसम्म भन्ने नारालाई सार्थक बनाउन सहयोग पुग्ने भनेका छन्। ‘व्यवस्थित योजना नहुँदा स्थानीय तहको योजना प्रदेशलाई र प्रदेशको योजना संघलाई थाहा नहुने र योजना पनि एक आपसमा बाँझिने समस्या थियो अब यो अभियानसँगै त्यसमा पनि कमी आउने अपेक्षा गरेका छौँ ।’–डा.शाक्यको भनाई रहेको छ। डा.शाक्यले यो अभियानसँगै योजना बैङ्क बनाएर अघि बढ्ने पनि जानकारी दिएका छन्।

‘योजना बैङ्क बनाएपछि योजनाको प्राथमिकता हेरेर हामी कामलाई अघि बढाउँछौँ,’ डा.शाक्यले भने, ‘योजना बैँङ्कले योजना नबाझिने मात्र होइन स्थानीय, प्रदेश र केन्द्र सरकारले गर्ने कामको पनि बाँटफाँट हुन्छ ।’ उनले यो अभियानले एकबाट अर्को वडासँग, एकबाट अर्को पालिकासँग, एक प्रदेशबाट अर्को प्रदेशसँग जोडिने कामका बारेमा मात्र नभएर साना योजना, मझौँला योजना र ठूला योजना कसले गर्ने भन्ने कुराको टुङ्गो लाग्ने पनि दाबी गरे।

संघीय सांसद श्रेष्ठ र प्रदेश सांसद डा.शाक्यसँगै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पनि यो अभियानमा सक्रिय ढंगले लागेका छन्। अभियानको सुरुवात काठमाडौँ महानगरपालिकाको वडा नंबर २२ बाट सुरु गरिएको मेयर शाक्यले बताएका छन्। मेयर शाक्यका अनुसार, अव यो महानगरका सवै वडाहरुमा क्रमिक रुपमा शुभारम्भ हुने भएको छ।

पहिलो चरणमा महानगरपालिकाका २२,२१ र १२ र १४ मा दैनिक साँझ र विहान यो अभियान सञ्चालन हुने डा.शाक्यले जानकारी दिएका छन्। ‘पहिलो चरणको अभियान बैशाख १० गतेभित्र सम्पन्न गर्छौँ,’ डा. शाक्यले भनेका छन्, ‘त्यसपछि जनताबाट प्रत्यक्ष आएका सुझावलाई शहरी विकास विज्ञसँग बसेर छलफल गरेर त्यसलाई मूत रुप दिएपछि फेरि दोस्रो चरणको अभियान शुरु गर्छौ।’
प्रकाशन मिति–२०७६ साल बैशाख ९ गते सोमवार ।