काठमाडौं। नेपालका प्रसिद्ध समाजसेवी तथा व्यवसायी स्वर्गीय भरतलाल श्रेष्ठ र ख्यातिप्राप्त सञ्चार उद्यमी तथा व्यावसायिक पत्रकारिताका धरोहर कामना प्रकाशनका संस्थापक प्रधान सम्पादक तथा प्रकाशक स्वर्गिय पुष्करलाल श्रेष्ठको नाममा कामना न्यूज पब्लिकेसन्स प्रालिले सम्मान अवार्ड स्थापना गरेको छ।

सो अवार्ड यही पुस १९ गते सीजी इन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुने गोदरेज नम्बर वन कामना फिल्म अवार्डस् २०७६ समारोहमा प्रदान गरिने भएको छ। भरतलाल ह्युम्यानिटेरियन अवार्ड पाउनेहरुमा समाजसेवामा निरन्तर लागिरहेका एवम् मानवीय कार्यमा समर्पित व्यक्तित्व हुनेछन् ।

त्यसैगरी, पुष्करलाल मिडिया अवार्डका हकदारहरुमा नेपाली मिडिया क्षेत्रमा उल्लेख्य योगदान पु-याएका तथा नेपाली सञ्चार क्षेत्रमा स्वदेशी पूँजी, श्रम र सोचको सम्मान र प्रवद्र्धन गर्दै यस क्षेत्रमा विशिष्ट योगदान दिएका मिडियाकर्मी हुनेछन् ।

मिडियाकर्मीभित्र सञ्चार उद्यमी तथा प्रकाशन, प्रसारण, अनलाइन, फोटो पत्रकारिता, व्यंग्यचित्र कलाकारिता लगायतका विधामा समर्पित पत्रकारलाई समेटिने जानकारी कामना न्यूज पब्लिकेसन्सका कार्यकारी प्रमुख दिरेकलाल श्रेष्ठले भिजन संसार डटकमलाई दिएका छन्।

कार्यकारी प्रमुख श्रेष्ठका अनुसार, दुवै स्मृति अवार्डका लागि प्रशंसायुक्त ताम्रपत्रका साथ एक–एक लाख रुपियाँ नगद प्रदान गरिनेछ। अवार्ड पाउने व्यक्तित्वको नाम सम्मान समारोहमै घोषणा गरिने छ।

लायन्स क्लबलगायतका समाजसेवी संस्थामा रहेर आजीवन सेवा पुर्याएका भरतलाल श्रेष्ठको विसं.२०७२ सालमा निधन भएको थियो। त्यसैगरी कामना न्यूज पब्लिकेसन्सका संस्थापक प्रधान सम्पादक तथा प्रकाशक पुष्करलाल श्रेष्ठको ६१ वर्षको उमेरमा यसै बर्ष २०७६ साल वैशाख ४ गते निधन भएको थियो।
प्रकाशन मिति–२०७६ साल पुस १६ गते बुधवार ।