KP Oli in China.jpgकाठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओली चीनको साताव्यापी भ्रमणको क्रममा चीनको बेइजिङ्ग प्रस्थान गरेका छन्। आइतवार विहान ११ बजेको निर्धारित समयमा हिमालय एयरलाइन्स मार्फत ओली जम्वो टोली सहित त्यसतर्फ प्रस्थान गरेका हुन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओलीलाई उपप्रधानमन्त्री विजय गच्छदार लगायतका मन्त्री तथा उच्च–अधिकारीहरुले विदाई गरेका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङ र समकक्षी ली खछ्याङसँग दुईपक्षीय वार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा चीन गएका हुन्। भ्रमण दलमा उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल छन्।

यसैगरी प्रधानमन्त्री पत्नी राधिका शाक्य,प्रमुख सल्लाहकार विष्णु रिमाल, सरकारमा सामेल र प्रमुख प्रतिपक्षी दलका सांसदसमेत भ्रमण दलमा छन्। प्रधानमन्त्रीको औपचारिक टोलीको सदस्य संख्या ५६ पुगेको छ भने व्यापारी र निजी क्षेत्रका व्यक्ति पनि छन्।यस पटक चीनले नेपाली आतिथ्यमा कम गरेको छ। यसअघि २० भन्दा बढीलाई खर्च बेहोर्ने गरेको चीनले अहिले ११ जनालाई मात्र सरकारी खर्चमा बोलाएको हो।
प्रकाशन मिति–२०७२ साल चैत्र ७ गते आइतवार ।