काठमाडौ। यो पुस महिनाको मध्य अझ धेरै जाडो बढेको छ। यो जाडोमा एलर्जीले पनि धेरैलाई दुःख दिने गरेको छ। जाडो र एलर्जीबीच धेरै सम्बन्ध रहेको छ। जाडोमा हुने एलर्जीले स्वास्थ्यमा भिन्नै प्रकारको समस्या निम्त्याउने गर्दछ। जाडोमा लगातार हाँच्छ्यिु आउनु, नाक बग्नु, र रुघाखोकी लाग्नु आफैमा एक प्रकारको एलर्जीको संकेत हुनसक्छ।

सामान्यतया एलर्जी हुनुमा हानिकारक भाइरस तथा व्याक्टेरिया मुख्य कारण मान्ने गरिन्छ। विशेषगरी, चिसो वा जाडो मौसममा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुने गर्छ। यसले गर्दा यस्ता भाइरस तथा व्याक्टेरियाले शरीरमा छिट्टै असर गर्दछ। संवेदनशील छाला भएका व्यक्तिलाई त अझ यो समयमा छाला सम्बन्धि धेरै समस्या आउने गर्दछ।

चिकित्सकहरुका अनुसार गर्मी मौसमको तुलनामा जाडोमा एलर्जीका रोगीहरुको संख्या धेरै हुने गर्दछ। शरीरमा चिसोका कारण कुनै एलर्जी भएमा यस्ता लक्षण देखिन्छ–

१.नाकबाट सिगान बग्ने नाक बन्द हुनु
२.नाक रातो हुनु , सुन्निनु
३.लगातार हाच्छिँउ आउने,
४.आँखा चिलाउने, रातो हुने, सुन्निने, पोल्ने ,आँखाबाट पानी बग्ने
५.हाच्छिँउ आउने, खोकी लाग्ने, दम आउने
६.शरीर दुख्ने, टाउको वा आँखा भारी हुने
७.नाक चिलाउने,
८.घाँटी खसखसाउने वा खोकी लाग्ने
९.छाला रातो हुने, चिलाउने
१०.कानमा समस्या,सुन्ने क्षमता कम हुने
११.मुख वरिपरि सुन्निने, खाना निल्नमा समस्या
१२.श्वास नली अवरुद्ध हुनाले स्वास लिनमा कठिनाई
यसबाहेक, सास प्रस्वास सम्बन्धि समस्या हुने व्यक्तिमा बदलिदो मौसमका साथमा छाती अररो हुने तथा सास लिनमा समस्या हुनसक्छ। बालबालिका वा वयश्कहरुमा सास नलीको तल्लो वा माथिल्लो भागमा पनि संक्रमण बढ्न सक्छ। परिणामस्वरुप, नाक बग्ने, हाछिउ आउने, आँखा रसाउने, नाक चिलाउने, छातीमा खकार जम्ने , थकावट महसुस हुने लगायतका लक्षण देखिने गर्दछ।

कसरी बच्ने ?
एलर्जीका समस्या प्राय धुलोधुंवाबाट सुरु हुने गर्दछ । त्यसैले, एलर्जीको समस्या भएका व्यक्तिले धुलोधुंवाबाट बच्न झाडुको सट्टा भ्याकुम क्लिनरको प्रयोग गर्नु पर्दछ। त्यस्तै, बाहिर निस्कदा मास्कको प्रयोग गर्नु पर्दछ। त्यस्तै, मौसममा अचानक बदलाव आएमा स्वास्थ्यमा विशेष ध्यान दिनु पर्दछ। पर्दा, तन्ना वा गलैचालाई ओसिलो हुनबाट जोगाउन समय समयमा घाममा सुकाउनु पर्दछ।

जनावरको भुत्लाबाट समेत एलर्जी हुनसक्ने भएकोले घरमा कसैलाई यस्तो समस्या छ भने घर पालुवा यस्ता जनावरबाट टाढै रहनु पर्दछ। एकै पटक चिसोबाट तातो र तातोबाट चिसोमा जाँदा पनि धेरैलाई एलर्जी हुन सक्दछ।

त्यसैले, यस्तो वातावरणमा जोगिनबाट पनि सर्तक रहनु पर्दछ।धेरै एलर्जी भएमा सुरक्षित औषधीको प्रयोग गरी विशेषज्ञको परार्मश लिनु पर्छ।

वल्ड एलर्जी अर्गनाइजेशनले एक गरेको एक अध्ययन अनुसार भिटामिन सीले इन्फ्लामेशन र एलर्जीको प्रतिक्रियालाई कम गर्छ। यसबाहेक, एलर्जिक राइनाइटिस कम गर्नमा भिटामिन–सी बाहेक भिटामिन–इ र माछाको तेलले पनि जादू जसरी काम गर्छ।

प्रकाशन मिति–२०७५ साल पुस २१ गते आइतवार ।