काठमाडौं। नेवार समाजभित्रको विभिन्न जातीय संगठनहरुको साझा संगठनको रुपमा महासंघ गठन हुने भएको छ। मंगलवार काठमाडौंमा सम्पन्न नेवाः जातीय संगठनहरुको भेलाले नेवाः जातीय महासंघ गठन गर्ने निर्णय गरेको हो ।

भेलाले जातीय संगठनहरुले लामो समयदेखि विभिन्न समस्या भोग्दै आएको र ती समस्याको समाधानको लागि सबै एक ढिक्का भएर अघि बढ्नुपर्ने निष्कर्ष निकाल्दै महासंघ गठन गर्ने निर्णय गरेको जानकारी सशक्त सञ्चारकर्मी विराजकाजी राजोपाध्यायले दिएका छन्।

सशक्त सञ्चारकर्मी विराजकाजी राजोपाध्यायका अनुसार, कार्यक्रममा भेला संयोजक एवम् नेपाल खड्गी सेवा समितिका संरक्षक मनोज नेवाः खड्गीले नेवाः जातीय संगठनको एकता र सहकार्य विषयमा अवधारणा पत्र प्रस्तुत गरेका थिए । अवधारणा पत्रमा जातीय महासंघ गठन गर्दै नेवाः समाजको परम्परागत पेशाको आधुनिकीकरण गर्दै समाजको आर्थिक उन्नतीमा योगदान दिनुका साथै जातीय समाजहरुको भवन बनाउनेसम्मका उद्देश्यहरु प्रस्ताव गरिएको छ ।

काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समितिका संयोजक एवम् काठमाडौं महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष न्हुछेँकाजी महर्जन, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायतले जातीय संगठनको एकताको विषय निकै सुखद रहेको भन्दै समाज, सम्पदा, संस्कृतिको संरक्षणमा सबै लाग्न सुझाव समेत दिएका थिए ।

यसै भेलाले महासंघ गठनको आवश्यक तयारीको काम अघि बढाउनका लागि मनोज नेवाःको संयोजकत्वमा सात सदस्यीय नेवाः जातीय महासंघ तयारी समिति पनि गठन गरेको छ । साथमा, चाडबाडमा नेवाः समाजभित्र एकरुपता ल्याउन सोही तयारी समितिबाट नेपाल पंंचाङ्ग निर्णायक समितिसँग छलफललाई तीव्रता दिने निर्णय पनि भेलाले गरेको छ ।
प्रकाशन मिति–२०७७ साल मंसीर ९ गते मंगलवार ।