काठमाडौंं। जापानमा आइतवार भारी बर्षा र शक्तिशाली आँधीका कारण १८ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन्। राजधानी टोकियो लगायत जापानका विभिन्न शहर आँधीका कारण तहसनहस भएको छ।

प्रतिघण्टा २२५ किलोमिटरको रफ्तारले आएको आँधी ६० बर्षयताकै सबैभन्दा खराब तथा शक्तिशाली मानिएको छ। ७० लाख मानिसलाई सुरक्षित स्थानतर्फ सर्न अपील गरिएको छ। हालसम्म ५० हजारभन्दा बढी मानिस घर छोडेर सुरक्षित स्थानतर्फ सरेका छन्। हवाई सेवा अवरुद्ध हुंदा एक हजारभन्दा बढी उडान प्रभावित भएका छन्। विद्युत आपूर्ति र रेलवे सेवासमेत अवरुद्ध बनेपछि कलेज र विद्यालयको पठन–पाठन बन्द भएको छ । ठाउँ ठाउँमा बिजुलीका पोल र रुखहरु ढल्नुका साथै सयौं सवारीसाधनमा ध्वस्त भएको छ।

मौसमविदहरुका अनुसार आँधी बिस्तारै पूर्वी तटतर्फ सरेको बताइएको छ।हगिबिस नामक यस आँधीका कारण राजधानी टोक्योको दक्षिणी भेगमा आएको बाढीका कारण जमीन भासिँदै गएको छ। र बाढी समेत आएको बताइएको छ। जापानी समाचार संस्था एनएचकेका अनुसार आँधीका कारण हालसम्म कम्तीमा १३ जना हराइरहेका छन्।

नगानो प्रान्तस्थित जापानको चर्चित बुलेट रेललाई पानीले घेरेको छ भने अलपत्र परेका स्थानीयलाई हेलिकप्टरको सहायताले घरका छानाबाट उद्धार गरिएको छ। सरकारले झण्डै सत्ताइस हजार सैनिक तथा अन्य कैयन् उद्धारकर्ताहरू पीडितलाई राहत पुर्‍याउन खटिएको जनाएको छ। टोक्योको उत्तरतर्फ पर्ने कावागोयमा आपत्कालिन उद्दारकर्ताहरूले नर्सिङ होममा फसेका मानिसहरूको उद्धारका लागि डुङ्गाको प्रयोग गरेका छन्।


(बीबीसी समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल असोज २६ गते आइतवार ।