काठमाडौ। अमेरिकाले जापानमा रहेका आफ्ना सबै सैनिकलाई रक्सी सेवनमा प्रतिबन्ध लगाएको छ। ओकिनावा टापुमा रक्सी सेवन गरेका आफ्ना एक जना सैनिक गम्भीर सवारी दुर्घटनामा संलग्न पाइएपछि सोमबार यस्तो निर्णय गरिएको हो।

ओकिनावामा रहेका सैनिकलाई उनीहरु कै आवास वा अखडामा बस्न भनिएको छ । हिजो आइतवार मात्र अमेरिकी सेनाले चलाएको ट्रक मिनि भ्यानसँग ठोक्किएर भएको दुर्घटनामा स्थानीय सवारी चालकको मृत्यु भएको थियो । उनले सवारी चलाउँदा रक्सी सेवनको मात्रा निकै धेरै पाइएको थियो ।

ओकिनावामा २६ हजार अमेरिकी सेना रहेका छन् । तर, स्थानीयले भने अमेरिकी सेनाको विरोध गर्दै आएका छन् । उनीहरुले सेनासंग जोडिएका अपराध र दूर्घटनाप्रति आपत्ति जनाउँदै आएका छन् । ओकिनावा अमेरिका–जापान सुरक्षा गठबन्धनको एउटा प्रमुख हिस्साको रुपमा रहेको छ । (समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल मंसीर ४ गते सोमवार ।