रौतहट। बम विस्फोटका घाइतेको हत्या आरोपमा पक्राउ परी प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलममाथि अनुसन्धान गर्न प्रहरीले थप ५ दिनको समय पाएको छ।

रौतहट जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलाशले पूर्वमन्त्रीसमेतरहेका आलमलाई अरु ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न समय दिएको हो। आलमले आफू अस्वस्थ भएको भनेर बयान दिन आलटाल गरेपछि म्याद थप गरिएको हो।

पहिलो पटक थप गरिएको ७ दिनको समय सकिएपछि म्याद थपका लागि आइतबार जिल्ला अदालतमा उपस्थित गराइएको थियो। विसं.२०६४ सालको पहिलो संविधानसभा निर्वाचनताका आफ्नै घरमा बम बनाइरहेका बेला भएको विष्फोटमा परी घाइते भएकालाई जिउँदै जलाएर मारेको आरोपमा आलमलाई प्रहरीले गएको असोज २६ गते पक्रेको थियो।
प्रकाशन मिति–२०७६ साल कात्तिक ३ गते आइतवार ।