Mayor Santosh Chalise & Deputy Mayor Shanti Nepal
Mayor Santosh Chalise & Deputy Mayor Shanti Nepal

काठमाडौ। काठमाडौ उपत्यका सडक बिस्तार आयोजनाले ठेक्का सम्झौता गरेको सडक बिस्तार मुआब्जा नदिइ गर्न नदिनेमा नगरपालिकाका जननिर्वाचित प्रतिनिधिले प्रतिबद्धता जनाएका छन्।

जोरपाटी–सुन्दरीजल सडक बिस्तार सरोकार समितिले शनिवार गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा आयोजना गरेको निर्वाचित जनप्रतिनिधिलाई बधाई एवम् शुभकामना आदानप्रदान गर्ने कार्यक्रममा निर्वाचित प्रतिनिधिले सडक किनारमा बनेका घरको मुआब्जा दिएर मात्र बिस्तार अघि बढाउन माग गरेका छन्।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, उपमेयर शान्ति नेपाल, प्रमुख सल्लाहकार दीपक रिसाल, सङ्घर्ष समितिका अध्यक्ष सरोजकुमार श्रेष्ठ लगायतका वडाध्यक्षहरुले मुआब्जा दिएर मात्र बिस्तारको काम गर्नुपर्नेमा जोड दिएका छन्।

राससका अनुसार, जोरपाटी–सुन्दरीजल सात किमी सडक बिस्तारका लागि काठमाडौँ उपत्यका विकास प्राधिकरण र काठमाडौ उपत्यका सडक बिस्तार आयोजनाले चिह्न लगाई ठेक्का सम्झौता हुँदा पनि काम अघि बढ्न सकेको छैन।

आयोजना प्रमुख दीपक केसीले ठेक्का लागेको डेढ वर्षसम्म पनि विभिन्न किसिमका दबाबले काम अघि बढाउन नसकिएको स्वीकार गरेका छन्।
प्रकाशन मिति–२०७४ साल असार ३ गते शनिवार ।