काठमाडौ। नेपाली चलचित्रकी सदावहार नायिका जोस्ना फुयांल परिवारप्रेमी नायिकाको रुपमा देखिएकी छन्। श्रीमान तथा छोरा–छोरी प्रेमी नायिका बनेकी छन्। श्रीमान रुपक फुयाँल तथा दुई छोरी र एक छोरालाई अत्यन्त माया गर्ने र उनीहरुकै लागि मरिमेट्ने नायिकाको रुपमा यतिखेर जोस्नालाई चिनिन थालेको छ।

तीन छोरा–छोरी हुर्काउनमा नै अत्यन्त व्यस्त बनिरहेकी जोस्नाले आम नायिकाहरुले भन्दा परिवार प्रेममा नै फरक ट्याटु बनाएकी छन्। अरु नायिकाले बक्षस्थल, ढाँड पछाडि, नाइटो जस्ता स्थानमा विभिन्न ट्याटु बनाउने गरेको पाइएतापनि जोस्नाले भने त्यसो गरेकी छैनन्। दायाँ हातमा टाटु बनाएकी छन्।

त्यस ट्याटुमा जोस्नाले दुई छोरी जोरुफा र जोरुजा र एक छोरा जोरुनको नाम उल्लेख गरेकी छन्। छोरा–छोरीको माया–मोह तथा प्रेमलाई हातको ट्याटु मार्फत सवैलाई सन्देश दिने कार्य जोस्नावाट भएको छ। जुन सकारात्मक सन्देशको रुपमा सवैले लिइएको पाइएको छ। श्रीस्वस्थानी ब्रतआरम्भको दिन जन्मेकी जोस्नाले आफू जन्मेको दिनमा समाज–सेवा गर्ने कार्य गर्दैआएकी छन्।

यो बर्षको श्रीस्वस्थानीको दिन पनि जोस्नाले आम व्यक्तिले जस्तो कही कुनै मठ–मन्दिरमा पूजापाठ तथा तारे होटलमा बर्थ–डे केक काटेर जन्म दिन मनाएकी छैनन्। त्यस दिन असहाय–अनाथ बृद्धा आमाहरुका साथमा उनीहरुलाई मिठो–मसिनो खुवाएर जन्म दिन मनाउने सामाजिक कार्य गरेकी छन्।

काठमाडौंको कालिमाटी सोल्टीमोड स्थित रविभवनमा रहेको आमाघरमा आश्रित बृद्धा–आमाहरुलाई मिठो–मसिनो भोजन गराएर फरक ढंगवाट फरक सोचले जोस्नाले जन्म–दिन मनाएकी हुन्। विगत तीन बर्षदेखि लगातार आमाघरमा गएर आफ्नो जन्मदिन मनाउने कार्य गर्दैआएकी जोस्नाले कसैलाई आपत–विपत पर्दा आफूले सक्दो सहयोग गर्ने गर्दैआएकी छन्।

त्यसमाथि,दृष्टिविहिन आमा देखि अशक्त आमाहरुलाई आश्रय दिएर अत्यन्त पुण्य कार्य गर्दैआएकी दिलशोभा आमाको आमाघरमा जन्मदिन मनाउन आउंदा अनौठो शान्ति मिल्ने गरेको जोस्नाको भनाई छ। सामाजिक रुपमा केही गर्ने सोच अनुरुप जन्मदिनलाई तडक–भडक नगरिकन सामाजिक रुपमा समाज–सेवा गरेर मनाउने सोचअनुरुप आमाघरमा पुगेर जन्मदिन मनाएको पनि जोस्नाले भनेकी छन्।

आम नायिकाहरुभन्दा फरक सोच र फरक विचारकी जोस्नाको पहिलो टेलिसिरियल जीवन–चक्र हो। जीवन–चक्र सिरियलको विसं.२०५९ सालमा निर्माण भएको र सोही साल नेपाल टेलिभिजनवाट प्रसारण भएको थियो।

जीवन–चक्र सिरियलमा अभिनय गर्दा पाएको साइनिङ एमाउण्ट नगद आठ सय रुपैया अझैपनि जतनले सिसाको फ्रेममा राखेर घरको प्यासेजमा सजाएर राख्ने कार्य जोस्नावाट भएको छ। जोस्नाको फिल्मलाइनको यो पहिलो कमाइ भएको कारण उक्त रकमलाई मास्ने कार्य भएको छैन्। पहिलो सिरियल जीवन–चक्र पछि हिट सिरियल कसलाई आफ्नो भनुँ, घर–परिवार, करुणा, खुशी पलभरको, अदृश्य घाउ, संस्कार र हराएको साइनोमा अभिनय गरिसकेकी छन्।

चलचित्रमा भने, जोस्नाको पहिलो चलचित्र शिकार हो। शिकार पछि जीवन–मृत्यु, जस्ट फर यु, किङ, देउता, नाइट क्वीन, शपथ, दुई दुना पाँच, छविलाल कन्जुस छैन लगायतका दर्जनौ चलचित्रमा जोस्नाले अभिनय गरिसकेकी छन्। यो बर्षपनि केही फिल्ममा अभिनय गर्ने अफर आएको बताएकी छन्।

सानैदेखि अभिनय भनेपछि हुरुक्क बन्ने गरेको बताउने जोस्ना सानो रहरलाई मज्जाले पूरा गर्न पाएतापनि अभिनयको धीत भने नमरेको भन्छिन्। विवाह पछि श्रीमानको सहयोग र साथले फिल्मलाइनमा निर्धक्क आउन पाइरहेको बताउने जोस्ना आफ्नो सफलताको पछाडि श्रीमान रुपक फुयाँलको साथ र सहयोग हो भनेर दिल खोलेर भन्छिन्।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७६ साल माघ १७ गते शुक्रवार ।