काठमाडौं। ज्यापु महागुथि पश्चिम भेगले धनबीर महर्जनकै नेतृत्व पाएको छ । शनिबार गुर्जुधारामा सम्पन्न महागुथि पश्चिम भेगको तेश्रो अधिवेशनले साविक अध्यक्ष धनवीर महर्जनलाई नै अध्यक्ष चयन गरेको हो।

सर्वसम्मतिबाट चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा चन्द्रशेखर महर्जन रहेका छन् भने सम्पूर्ण महर्जनले सचिवको जिम्मेवारी पाएका छन् । त्यसैगरी शिशुपाल महर्जन कोषाध्यक्षमा चयन हुँदा धवेन्द्र महर्जन सहकोषाध्यक्ष बनेका छन्। सदस्यहरुमा धनकृष्ण महर्जन, रमेश महर्जन, धनबहादुर महर्जन, राजेश महर्जन, ललिक महर्जन, दिनेश महर्जन, नेसन महर्जन, तेजमाया महर्जन, अष्टमाया महर्जन र सानु महर्जन रहेका छन्।

अधिवेशनको उद्घाटन सत्रमा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले भाषा, कला, साहित्य, संस्कृति नै देशको सम्पत्ति भएको बताउँदै देशको सम्पत्तिको संरक्षण गर्न काठमाडौं उपत्यकाको स्थानीय संस्कृतिको रक्षा गर्नुपर्ने बताएका थिए।

स्थानीय संस्कृतिको संरक्षण, सम्वद्र्धन गर्न नेवाः संग्रहालयको स्थापना गर्ने चन्द्रागिरी नगरपालिका मेयर गिरीको प्रतिवद्धता थियो ।
ज्यापु महागुथिका केन्द्रीय अध्यक्ष राजभाई जकःमिले खेत जोत्ने ज्यापु सुमुदायले अब देश बोक्ने उद्घोष गरे।

महागुथि पश्चिम भेगका अध्यक्ष धनवीर महर्जनले पश्चिम भेगका ज्यापु समुदायलाई एकतावद्ध गर्दै समस्त ज्यापु समुदायको साथमा नेवाः समुदायकै वृहत्तर हितको लागि क्रियाशील रहने प्रतिबद्धता जनाएका थिए।

सोही कार्यक्रममा स्थानीय निर्वाचनमा पश्चिम भेगमा निर्वाचित ज्यापु समुदायका पाँच वडाध्यक्षलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा चन्द्रागिरी नगरपालिका उपमेयर लिशा नकर्मी, ज्यापु महागुथिका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सन्तु महर्जन लगायतको उपस्थिति रहेको थियो।


प्रकाशन मिति–२०७६ साल साउन २३ गते विहीवार ।