काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको कारण विश्व नै बन्दाबन्दीको अवस्थामा रहेको छ। नेपाल पनि बन्दाबन्दी अर्थात लकडाउन भएको पनि आज शुक्रवारवाट ६७ दिन भैसकेको छ।

यस अवधिमा नेपालीहरुको जनजीवन अत्यन्त प्रभावित बनिसकेको छ। रोगले भन्दा भोकले मरिने डर भैसकेको छ। बन्दाबन्दीको अवस्थाले भोकमरीको अवस्था आउने डर पनि आइसकेको छ। यस्तो अवस्थामा सरकारले सवैलाई राहतको उचित प्याकेज ल्याउन अत्यन्त आवश्यक भैसकेको छ।

अर्कोतर्फ जारी लकडाउनका कारण बालबच्चादेखि बृद्ध–बृद्धासम्मलाई अत्यास मात्र होइन, वाक्क–दिक्क नै पारिसकेको छ। कति घर बस्ने अनि कति सुत्ने भन्नेहरुको माझमा ७७ बसन्तमा पुगिसकेका ज्येष्ठ नागरिक जोगनारायण अवाल अव नेपालमा जारी लकडाउन खुलाउंदै लानुपर्ने तर्क गर्छन्। लामो समय नेपालको लागि लकडाउन ज्यादै कठिन हुने तर्क अवालको रहेको छ।

भक्तपुरको दुवाकोट सरस्वतीखेल थाकथलो भएतापनि हाल काठमाडौं महानगरपालिका वडा नंबर ३२ कोटेश्वर स्थित दीपनगरमा छोरा–बुहारी, नाति–नातिनीकासाथ बस्दैआएका जोगनारायणले ७७ बर्षको उमेरसम्म आइपुग्दा कोरोनाभाइरसको महामारी आफूले नदेखेको र नभोगेको बताउंदै यो उमेरमा आएर यस्तो समय पनि भोग्नु पर्यो भनेर प्रतिक्रिया व्यक्त गर्दछन्।

भक्तपुरको प्राचिन नगरी बोडेको नसंःत्वामा जन्मी–हुर्की दुवाकोट सरस्वतीखेल वडा नंबर–७ बसाई सरेका जोगनारायणको परिवार पछि काठमाडौं झरेका हुन। काठमाडौंको असनमा बसेर विभिन्न जीविका गर्दै त्यो बेला रत्नपार्कमा दियो शान्दार मम सेन्टर खोलेर व्यापक चर्चामा आएका जोगनारायणको आँखामा मम बेचेर दुई छोरा र दुई छोरीलाई दुःखले हुर्काएको त्यो पल र समय अझै झलझली रहेको छ। अनि यतिखेर त्यही छोराछोरीले आफ्नो एकल जीवनमा साथ दिएकोमा साह्रै खुशी पनि देखिएका छन्।

(कोटेश्वर प्रतिनिधि सुनकुमार अवालको सहयोगमा)
प्रकाशन मिति–२०७७ साल जेठ १६ गते शुक्रवार ।