बिर्तामोड (झापा)। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापाको विर्तामोडमा वडा दशैंको शुभकामना आदान प्रदान कार्यक्रम गरेका छन्। शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा एमालेवाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद ख्यातिप्राप्त लोकदोहरी गायिका कोमल ओली लगायत जिल्ला स्थित पार्टी कार्यकर्ता तथा एमाले समर्थकहरुको भीड लागेको थियो।

शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले वर्तमान शेरवहादुर देउवा नेतृत्वको सरकार बाटर (सट्टापट्टा)को सिस्टमबाट बनेको आरोप लगाएका छन् । उनले सट्टापट्टा मिलाउने क्रममा जेठानको मामलाले बडा चर्चा पाएको भन्दै कटाक्ष गरे ।

‘जेठानको मामलाले सट्टापट्टा भएको त स्पष्ट देखियो । अरु के के भएको थियो, पछि देखिएला’ पूर्व प्रधानमन्त्री ओलीले भने, ‘पहिला ब्यापारमा पैसाको कारोबार हुँदैनथ्यो बाटर सिस्टम हुन्थ्यो धेरै । यो सरकार बनाउँदा पैसाको कारोबार भयो भएन त थाहा भएन । बाटर सिस्टम चाहिँ यसपल्ट देखियो । सट्टापट्टा, खुर्सानी दिने पीठो लिने, के दिने अर्को लिने, यस्तो चलन थियो उहिले उहिले । अहिले सरकार बनाउँदा पनि त्यस्तै देखियो।’

हालै भएको मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशका जेठानलाई मन्त्री बनाएकोतर्फ संकेत गर्दै उनले सट्टापट्टा भएको प्रष्ट भएको बताए। नेता ओलीले परमादेशबाट धर्तीमा पहिलोपल्ट सरकार बनेको भन्दै टिप्पणी समेत गरे। यस्तै उनले अर्ली इलेक्सनको आशंकासमेत व्यक्त गरेका छन् ।

उनले संसदसमेत राम्ररी नचलेको, तीन महिनापछि मन्त्रीमण्डल विस्तार गरेको त्यो पनि सट्टापट्टा मिलाउनका लागि भएकाले निर्धारित समयअघि नै आम चुनाव हुनसक्ने शंका व्यक्त गरे । उनले अर्ली इलेक्सनतर्फ सचेत रहँदै एमालेले नेतृत्व गरिरहेका प्रदेश सरकार र स्थानीय तहका प्रमुखहरुलाई बाँकी समयमा लोकप्रिय र व्यवस्थित विकास निर्माणका काम गर्न निर्देशन दिए ।
प्रकाशन मिति–२०७८ साल असोज २८ गते विहीवार ।