काठमाडौ। पूर्वी नेपालको झापामा उत्साहजनकरुपमा शुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा तीन शीर्ष पार्टीका उम्मेदवारले आफूले आफैँलाई मतदान गर्न पाएन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीले आफुले आफैँलाई मतदान गर्न नपाएको हो।

नेकपा एमाले अध्यक्ष ओली र काँग्रेस नेता सिटौलाको झापा गृहजिल्ला हो। तर, नेकपा एमालेका अध्यक्ष ओलीले मतदाता नामावली भक्तपुर–२ मा सारेपछि ओलीले झापाबाट मत खसाल्न नपाएको हो । यता भद्रपुर नगरपालिकाको वडा नं १०, निर्वाचन क्षेत्र नं १ मा परेपछि काँग्रेस नेता सिटौलाले आफुले आफैँलाई मतदान गर्न नपाएको हो।

वाम गठबन्धनका तर्फबाट झापा– १ बाट उम्मेदवार बनेका कार्कीको मतदाता नामावली काठमाडौँ—१ मा भएकाले उहाँले पनि आफूले आफैँलाई मतदान गर्न नपाएको हो । एमाले अध्यक्ष ओली झापा—५, काँग्रेस नेता सिटौला झापा—३ र नेकपा माओवादी केन्द्रका नेता कार्की झापा—१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका छन्।
प्रकाशन मिति–२०७४ साल मंसीर २१ गते विहीवार ।