काठमाडौं। टर्कीको पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ। एक हजारभन्दा बढी व्यक्ति घाइते भएका छन्।

शुक्रबार एलाजिग प्रान्तको सिभ्रिस सहरलाई केन्द्रविन्दु बनाएर ६.८ म्याग्निच्यूडको भूकम्प गएको अधिकारीहरुले जनाएका छन्। भत्किएका भग्नावशेषमा अझै केही व्यक्ति च्यापिएको हुनसक्ने अनुमान गरिएको छ।

भूकम्पका कारण सयौं भवनहरुमा क्षति पुगेको बीबीसीले जनाएको छ। भूकम्पको धक्का सिरिया, लेबनान र इरानमा पनि महसुस गरिएको थियो। भूकम्पपछि धेरै पराकम्पनहरु आएकाले मानिसहरु थप त्रसित बनेका छन्।

टर्कीको उत्तर पश्चिम सन् १९९९ मा गएको भूकम्पका कारण १८ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल माघ ११ गते शनिवार ।