काठमाडौं। शुक्रवार पहिलो पल्ट त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल महाराजगञ्जले सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेपछि अव महिनामा बढीमा एक पटक कलेजो प्रत्यारोपण गर्ने भएको छ। पाँच महिनापछि भने महिनामा दुईटासम्म प्रत्यारोपण गर्ने अस्पतालको तयारी रहेको छ।

भारतमा गएर बर्सेनि करिब ५० जना नेपालीले कलेजोको प्रत्यारोपण गराइरहेको अवस्थामा यो सुखद समाचार बनेको छ। हाललाई टिचिङ अस्पतालमा कलेजो प्रत्यारोपण गर्न करिब २५ लाख रुपैयाँ खर्च हुने अस्पतालका प्रा.डा.रमेशसिंह भण्डारीको भनाई रहेको छ।

डा. भण्डारीका अनुसार, कलेजोले पाचन क्रिया, मेटाबोलिज्म सही राख्नुका साथै विषाक्त पदार्थ शरीर बाहिर निकाल्छ। अन्य शल्यचिकित्साको तुलनामा कलेजो प्रत्यारोपण जटिल मानिन्छ। नेपालमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले हालसम्म विदेशी विशेषज्ञको सहयोगमा तीनवटा बिरामीमा कलेजो प्रत्यारोपण गरिसकेको छ।
प्रकाशन मिति–२०७६ साल जेठ २० गते सोमवार ।