काठमाडौ। ललितपुर पेट्रियट्सले यही आउने पुसमा आयोजना गर्न लागेको टिभिएस एभरेस्ट प्रिमियर लिग(इपिएल) क्रिकेट टूर्नामेन्टमा प्रयोग हुने जर्सी सार्वजनिक गरेको छ। विहीवार आयोजित कार्यक्रममा उक्त जर्सी सार्वजनिक गरेको हो।

प्रतियोगिताको लागि पहेलो र रातो रंग सम्मलित जर्सी सार्वजनिक गरेको हो । आयोजक ललितपुर पेट्रियट्सका अध्यक्ष किशोर महर्जन, प्रबन्ध निर्देशक छुम्बी लामा र कप्तान तथा मार्की खेलाडी ज्ञानेन्द्र मल्लले जर्सी सार्वजनिक गरेका हुन।

ललितपुर पेट्रियट्सले आफ्नो मुख्य प्रायोजक मारुती सिमेन्ट, सह प्रायोजक नेपाल इन्भेस्टमेन्ट बैंक, कोकाकोला लगायतको लोगो अंकित जर्सी सार्वजनिक गरेको हो । ललितपुर पेट्रियट्स खेलकुदमा बल्ल उदाउदै गरेको कारण जर्सीको रंग पनि सुर्योदयको प्रतिक रहेको पहेलो र रातो रंग छनोट गरेको क्लबका अध्यक्ष किशोर महर्जनले भनेका छन्।

ललितपुर पेट्रियट्सले इपिएलको लागि भारतमा हुने इंण्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने २ जना तथा रणजी ट्रफी खेल्ने १ जना खेलाडी भित्राउन लागेको जानकारी दिएको छ । प्रतियोगितामा तीन जना विदेशी खेलाडी अनिवार्य गर्नु पर्ने भएपछि क्लबले आइपिएल खेल खेलिसकेका खेलाडी ल्याउन लागेको जनाएको हो।

ललितपुर पेट्रियट्सका अध्यक्ष महर्जनले आइपिएल र रणजी टिममा रहेका खेलाडी आउने तय भैसकको तर, सम्झौता गर्न बाँकी रहेको बताए। महर्जनले दिल्ली डेयरडेभिल्स र राजेस्थान रोयल्सका खेलाडीलाई क्लबमा भित्राउन लागेको पनि भनेका छन्। ललितपुर पेट्रियट्सले अक्सनबाट १० खेलाडी किनिसकेको छ। अब विदेशी र ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गर्न बाँकी छ। ट्यालेन्ट हन्टबाट एक खेलाडी छनौट गर्नुपर्ने भएपनि क्लबले ४ खेलाडी छनोट गर्ने अध्यक्ष महर्जनले भनेका छन्।

त्यस्तै प्रतियोगिताको लागि ललितपुर पेट्रियट्सले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका पुर्व प्रशिक्षक राजु बस्न्यातलाई प्रशिक्षणमा नियुक्त गरेको छ। टोलीको बन्द प्रशिक्षण भने नेपाली टोली युएई भ्रमणबाट फर्किएपछि हुने क्लबले जनाएको छ।
प्रकाशन मिति–२०७४ साल मंसीर ८ गते शुक्रबार ।