काठमाडौं। काठमाडौंको चर्को ट्राफिक जामलाई न्यूनिकरण गर्ने हो भने, ट्राफिक प्र्रहरी नभइकन ट्राफिक सडक बत्ती अत्यन्त आवश्यक भएको छ। पंचायतकालमा काठमाडौंका प्राय सडकमा ट्राफि बत्ती हुने गर्दथ्यो। त्यो ट्राफिक बत्तीको संकेतमा ट्राफिकलाई नियन्त्रण हुने गर्दथ्यो।

त्यो बेला आजजस्तो डरलाग्दो ट्राफिक जाम थिएन। बीसौ शताव्दीको मुलुक जस्तो ट्राफिक प्रहरीले हात हल्लाएर आफ्नै मनखुशीले इशारा गरेर सवारीलाई रोक्ने र जाने कार्य केही दशकयता हुंदैआएको छ। र भैरहेको छ। जुन विदेशी पर्यटकहरुका लागि अनौठो विषय बन्ने गरेको छ।

अर्कोतर्फ, जहाँ ट्राफिक प्रहरी त्यहाँ ट्राफिक जाम भन्ने उखानै भैसकेको अवस्थामा काठमाडौंलाई स्मार्ट सिटी बनाउने अवधारणा र सोच अनुरुप काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगर क्षेत्रमा ट्राफिक संकेत बत्तीको अत्यन्त आवश्यकता भएको र सोही आवश्यकता अनुरुप काठमाडौं महानगर क्षेत्रमा ट्राफिक संकेत बत्ती जडान गर्ने कार्य भैरहेको बताएका छन्।

यसैसन्दर्भमा काठमाडौं महानगरपालिकाले चक्रपथ खण्डमा पर्ने महाराजगञ्ज चोकमा नेपाली प्रविधिमा निर्माण गरिएका सडक संकेत बत्ती (ट्राफिक लाइट) सञ्चालनमा ल्याएको छ। २५ लाख रुपैयाँ खर्च गरेर निर्माण भएको ट्राफिक बत्ती प्रणालीको रिमोट शुक्रबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महाराजगंज सडकमा नै पुगेर ट्राफिक प्रहरी उपरीक्षक राजकुमार लम्साललाई हस्तान्तरण गरेका छन्।

त्यस लगत्तै मेयर शाक्यले शिक्षण अस्पताल अगाडि निर्माण गरिएको पैदल यात्रु संकेत बत्तीको पनि उदघाटन गरेका थिए। यो प्रणाली निर्माण गर्न ५ लाख रुपैयाँ खर्च भएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

महाराजगञ्जमा निर्माण गरिएको संकेत बत्तीमा सवारी साधनका लागि ९० सेकेण्ड र जेब्रा क्रसिङ् प्रयोग कर्ताका लागि १५ सेकेण्ड समय कायम गरिएको छ। तारविहिन नेपाली प्रविधिमा जडान गरिएको प्रणालीमा बत्तीसँगै क्यामरा पनि जोडिएका छन्।

ती क्यामराले १०० मिटरसम्मका सवारीलाई क्लोज अप गरेर निगरानी गर्न र तिनका गतिविधि रेकर्ड गर्न सक्छन्। बत्तीहरु अटो र म्यानुअल दुवै तरिकाबाट चलाउन सकिन्छ।

ट्राफिक बत्ती हस्तान्तरण तथा शुभारम्भ कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर शाक्यका साथमा काठमाडौं महानगरपालिका वडा नंबर ३ का वडा अध्यक्ष दीपक केसीको पनि प्रत्यक्ष सहभागिता रहेको थियो।

फोटो सौजन्य–चन्द्रमणि भट्टराई (काठमाडौं महानगरपालिका)।

प्रकाशन मिति–२०७५ साल असोज २६ गते शुक्रबार ।