काठमाडौ। लामो समयदेखि ठूला नेताहरुको आशीर्वादवाट पक्राउ नपरेका ज्यान मुद्दाका दोषी माओवादी नेता बालकृष्ण ढुंगेललाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले ढुंगेललाई ललितपुरको पाटन क्षेत्रबाट मंगलवार पक्राउ गरेको हो।

विसं.२०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा माओवादी नेता ढुंगेललाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो। जिल्लाको फैसला पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो। फेरि विसं.२०६६ सालमा सर्वोच्चले जिल्ला अदालतको फैसला सदर गर्दै ढुंगेललाई दोषी ठहर गरेको थियो।

ढुंगेलमाथि अदालतले गरेको निर्णय कार्यानन्वयन नभएको भन्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध सर्वोच्च अदालतमा रिट परेको सन्दर्भमा प्रहरीले ढुंगेललाई पक्राउ गरेको हो। सर्वोच्चले विसं.२०७३ चैत ३१ मा ‘तुरुन्त पक्राउ गर्न आवश्यक देखिँदा पक्राउ गर्न आफू र मातहतका सम्पूर्ण प्रहरी संरचना परिचालन गरी प्रतिवादी बालकृष्ण ढुंगेललाई जहाँ भए पनि खोजतलास गरी सात दिनभित्र पक्राउ गरी सम्बन्धित कारागार कार्यालयमा जिम्मा लगाई यस अदालतमा पेस गर्नु’ भनी प्रहरी महानिरीक्षकका नाममा आदेश जारी गरेको थियो।

प्रहरीले खोजी गरे पनि नभेटिएको बताउँदै भेटिँनासाथ पक्राउ गरी बुझाउने लिखित जानकारी अदालतलाई दिएको थियो। पछिल्लो समय ओखलढुंगाको चुनाबका लागि एमाले र माओवादीबीच भएको टिकट बाँडबाँड बैठकमा ढुंगेल सहभागी भएको तस्विर सार्वजनिक भएको थियो। काठमाडौंको एउटा पार्टी प्यालेसमा ज्याद मुद्दाका दोषी ढुंगेल र एमाले नेता यज्ञ सुनुवार सँगै बसेर छलफल गरिरहेको तस्विर सार्वजनिक भएको थियो।

त्यही सन्दर्भमा बरिष्ठ अधिवक्ता त्रिपाठीले सर्वोच्चमा प्रहरी महानिरीक्षकविरुद्ध नामै किटान गरी हदैसम्मको कारवाही माग गर्दै रिट दायर गरेका थिए। त्यसपछि बल्ल प्रहरी जुर्मराएर ढुंगेललाई पक्राउ गर्न प्रहरी सफल भएको हो।
प्रकाशन मिति–२०७४ साल कात्तिक १४ गते मंगलवार ।