काठमाडौं। अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने भएको छ। व्हाइटहाउसले गर्दै आएको नियमित पत्रकार समेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहायता रोक्न आफूले निर्देशन दिइसकेको जानकारी दिए।

विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण फैलिन नदिन डब्लुएचओले गरेको काम निकै कमजोर रहेको आरोप पनि ट्रम्पले लगाएका छन्। कोरोना भाइरस नियन्त्रणको आधारभूत प्रयासमै डब्लुएचओ असफल भएको ट्रम्पको अभियोग छ।

बीबीसीका अनुसार, कोरोना भाइरसको संक्रमण चीनमा देखिएपछि त्यसको ढाकछोप गरेको गम्भीर आरोप पनि ट्रम्पले संयुक्त राष्ट्रसंघीय निकाय डब्लुएचओमाथि लगाएका छन्। यो अवव्यवस्थाका लागि डब्लुएचओ जिम्मेवार हुनैपर्ने तर्क उनको छ।

डब्लुएचओको खर्चमा अमेरिकाको सबैभन्दा ठूलो हिस्सा रहने गरेको छ । गत वर्ष मात्र अमेरिकाले डब्लुएचओलाई चार सय मिलियन अमेरिकी डलर दिएको थियो। यो डब्लुएचओको कुल बजेटको करिब १५ प्रतिशत हो।

यसअघि पनि ट्रम्पले कोरोना भाइरसको संक्रमणका सन्दर्भमा डब्लुएचओले चीनको पक्षमा वकालत गरेको आरोप लगाउँदै सहयोग रोक्ने चेतावनी दिइसकेका थिए । ट्रम्पको यस्तो आरोपमा डब्लुएचओका प्रमुखले भने कोरोना भाइरसको महामारीलाई राजनीतिकरण नगर्न आग्रह गरेका थिए।
प्रकाशन मिति–२०७७ साल बैशाख ३ गते बुधवार ।