काठमाडौं। नेपाली कविता तथा गीत सिर्जना मार्फत एक पछि अर्को गरेर विश्व रेकर्ड राख्दै आएका कीर्तिमानी सर्जक डाक्टर डीआर उपाध्यायले थप नयाँ विश्व रेकर्ड राखेका छन्।

यस अघि गिनिज बुक अफ वल्र्ड सहित ५१ वटा विधामा डाक्टर उपाध्यायले विभिन्न विश्व रेकर्ड बनाएका थिए । विहीवार अरु थप ७ वटा विश्व रेकर्ड बनाउँदै डाक्टर उपाध्यायले आफ्नो विश्व रेकर्डको संख्या ५९ वटा पु-याएका हुन्।

विहीवार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्व श्रममन्त्री रामेश्वर राययादब, अग्रज गीतकार चुडामणि देवकोटा तथा अग्रज साहित्यकार राधेश्याम लेकालीले डाक्टर उपाध्यायलेलाई ७ वटा थप नयाँ विश्व रेकर्ड प्रदान गरेका छन्। एक महिना अघि डाक्टर उपाध्यायले फरक ७ वटा गीति कविता सार्वजनिक गरेका थिए ।

तीनै ७ वटा गीति कविताबाट थप ७ वटा विश्व रेकर्ड कायम गर्नमा डाक्टर उपाध्यायले सफलता प्राप्त गरेको जानकारी कार्यक्रममा दिइएको थियो । यस पटक डाक्टर उपाध्यायले विश्व रेकर्ड बनाएका गीति कवितामा विश्वका ११० म्युजिक ब्यान्डको नाम समेटिएको गीति कविता, हामी शब्द ६० पटक समेटिएको गीति कविता, १७० मोवाईल फोनको नाम समावेश गरिएको गीति कविता, ५३ विभिन्न प्रजातिको कुकुरहरुको नामबाट तयार गीति कविता, संसारका प्रचलित ४१ वटा ह्याट–क्वापको नाम समेटिएको गीति कविता, शब्दको अन्त्यमा ४३ यो अक्षर समावेश गरि बनाईएको गीति कविता, विभिन्न गाडीका ६० वटा मोडलहरुको नामबाट तयार गरिएको बिषयमा रहेका छन् ।

डाक्टर उपाध्यायले यसपटक यी थप सात बिश्व रेकर्डलाई पनि द ब्रिटिस वल्र्ड रेकर्ड, अमेरिकन वल्र्ड रेकर्ड, डब्लुएसी वल्र्ड रेकर्ड, एसियन वल्र्ड रेकर्ड, युरोपियन वल्र्ड रेकर्ड, आसाम वल्र्ड रेकर्ड, एभरेष्ट वल्र्ड रेकर्ड, च्याम्पियन वल्र्ड रेकर्ड, युनिभर्सल वल्र्ड रेकर्ड, अफिसल वल्र्ड रेकर्ड, ओएमजी वल्र्ड रेकर्ड, सुप्रिम वल्र्ड रेकर्ड, युआरएफ एशियन वल्र्ड रेकर्ड, बँगाल वल्र्ड रेकर्ड गरी विश्वका १४ वटै वल्र्ड रेकर्डमा समेत दर्ता गराएका छन् ।

गीत सँगीत तथा साहित्य सृजनाबाट यती धेरै विश्व रेकर्ड कायम गर्ने डाक्टर उपाध्याय पहिलो नेपाली सर्जक बन्न पुगेका छन्। सबैभन्दा बढी विश्व रेकर्ड बनाउनेमा डाक्टर उपाध्याय विश्वको दशौं र एशियाको पहिलो व्यक्तिका रुपमा परेको पनि कार्यक्रममा जानकारी दिइएको छ।

प्रकाशन मिति–२०७८ साल भाद्र ११ गते शुक्रवार ।