काठमाडौं। नेपाली चलचित्रको वितरण यतिखेर फलामे चिउरा चपाएजस्तो नै हो। मल्टीमिडियाको मार्केटमा चलचित्रको बजार खोज्नु निश्चित रुपमा कडा काम जस्तो बनिसकेको छ। यो कडा काममा मानिसको नाडी समातेर उपचार गर्दैआएकी स्वास्थ्यकर्मी डाक्टर सुनिता भट्टराइएको प्रवेश भएको छ। नेपाली चलचित्रलाई सानैदेखि अत्यन्त माया गर्ने स्वास्थ्यकर्मी सुनिता भट्टराईको नयाँ गन्तव्य नेपाली चलचित्र बनेको हो।

नेपाली चलचित्रको बागडोर सम्हालेर मार्केटिङ गर्नका लागि दमदार रुपमा अग्रज चलचित्रकर्मी सरोज शर्माका साथमा तिरुपति फिल्मस मार्फत सुनिता भट्टराई होम्मिएकी हुन्। नेपाली चलचित्रको नाजुक अवस्थालाई सुदृढ पार्ने लक्ष्य तथा उदेश्य अनुरुप नेपाली चलचित्रको वितरण व्यवस्थापन गर्ने कार्य ढिलैभएपति दमदार रुपमा सुनिता भट्टराईवाट भएको छ। ढिलो प्रवेश भएतापनि प्रथम महिला नेपाली चलचित्र वितरकको इतिहास सुनिता भट्टराईवाट भएको छ।

नातामा सुनिता भट्टराईकी देवरबाबु चलचित्रकर्मी सरोज शर्माका अनुसार नेपाली चलचित्र क्षेत्रमा सुनिता भट्टराई अघि र पछि कोही पनि महिला चलचित्र वितरकका रुपमा देखिएका छैनन्। यसहिसावले पनि सुनिता भट्टराई नेपाली चलचित्रको पहिलो महिला चलचित्र वितरक हुन्। नेपाली चलचित्रको प्रथम महिला वितरकका रुपमा अगाडि बढ्ेकी सुनिता भट्टराईले छोटो समयमा यसक्षेत्रमा दिएको योगदानको कदर स्वरुप सम्मान पनि प्रदान गरिसकेको छ।

सिन्धुपालचोक जिल्लाको पितलाको दुबाचौर गाविसमा बुवा पण्डित चित्रप्रसाद सुवेदी र आमा अन्नपूर्ण सुवेदीको पाँचौ सन्तानको रुपमा विसं.२०३१ साल असार २९ गते सुनिता भट्टराईको जन्म भएको थियो। सानैदेखि कलाकारिता क्षेत्रमा रुचि राख्ने भएतापनि त्यो बेलाको समय तथा परिस्थितिले कलाकार बन्न नसकेतापनि हाल विभिन्न चलचित्रमा विशेष भूमिकामा अभिनय गर्ने कार्य पनि गरिरहेको जानकारी सुनिता भट्टराईले दिएकी छन्।

अनमोल केसी अभिनित चलचित्र गाजलु, दिनेश लिङदेनको अदालत र विवेक सापकोटाको चलचित्र कमाण्डरमा डविङ आर्टिष्टको रुपमा गजबको काम समेत गरिसकेकी छन्। एक्लै तिरुपति फिल्मसको व्यानरवाट नेपाली फिल्मको डिस्ट्रीव्युसनमा लाग्दैआएकोमा सुनिता भट्टराई भाउजुको साथ र सहयोगले यस क्षेत्रमा अझ अगाडि बढ्न सहज र सरल भएको भनाई चलचित्रकर्मी सरोज शर्माको रहेको छ।

तीन दशक लामो नेपाली चलचित्र क्षेत्रको निरन्तरतामा फिल्म डिस्ट्रीव्युसनमा यो बर्ष आक्रामक ढंगवाट देखा परेका सरोज शर्मा र सुनिता भट्टराई तिरुपति फिल्मसले माघ महिनामा सफतापूर्वक चलचित्र बैना रिलिज गरिसकेको छ। त्यसैगरेर, अदालत एैलान, रेस लगायतका चलचित्र रिलिज गर्ने दौडानमा रहेका छन्। त्यसैगरेर, मुर्चुङगा, मेरो आफ्नो, माइला, बास्तु, सुप्रियर फिल्म प्रोडक्सन नंंबर ३ र उदय सुव्वा निर्देशित चलचित्र आरुषी पनि तिरुपति फिल्मस्ले नै गर्ने भएको छ।

पढाई–लेखाईमा पनि राम्रो दखलता भएको कारण स्वास्थ्यकर्मी बनेर स्वास्थ्य क्षेत्रमा उच्च सेवा प्रदान गर्दैआएकी सुनिता भट्टराईको विवाह विसं.२०५० साल बैशाख २९ गते यादवप्रसाद भट्टराईसंग भएको हो। सुनिताका दुई छोराहरु रजत भट्टराई र युत्सुव भट्टराई छन्। काठमाडौंको गोठाटार स्थित नव–जीवन प्राकृतिक निरोग सेवा केन्द्र र दीर्घ जीवन फिजियोथेरापी सेन्टरमा स्वास्थ्यकर्मीको नाताले सुनिता विरामीको सेवामा पनि त्यतिकै व्यस्त हुने गरेकी छन्।

मूलधारको पेशा स्वास्थ्य क्षेत्रको व्यस्तताको बाबजुद सुनिता भट्टराईको चलचित्र वितरणको व्यस्ततामा पनि अत्यन्त दौडधुप हुन थालेको छ। सानैदेखि मन परेको क्षेत्रमा ढिलैभएपनि लाग्न पाउंदा मज्जा लागिरहेको सुनिताको भनाई रहेको छ।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७६ साल जेठ १९ गते आइतवार ।