काठमाडौं। डान्सका अदभूत माहिर कलाकार स्वजन रघुवंशीलाई यो बर्षको युवा प्रतिभा पुरस्कार प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले अदभूत प्रतिभावान डान्सर कलाकार रघुवंशीलाई नगद १ लाख सहित युवा प्रतिभा पुरस्कार प्रदान गरिएको हो।

कार्तिक नाचलगायत प्राचिन सांस्कृतिक नाचको संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको तथा ८ वटा विधामा एकल नृत्य प्रस्तुत गरेको भन्दै रघुवंशीलाई नगदसहित सम्मान गरिएको हो। युवा तथा खेलकुद मन्त्रालयद्वारा सोमबार आयोजित ‘राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा उद्यमशीलता सम्मेलन’मा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले अदभूत डान्सर रघुवंशी लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएबापत १० जना युवालाई सम्मान गरेका हुन्।

सम्मानित हुनेमा विज्ञान प्रविधितर्फ तेह्रथुमका गणेशविक्रम सिंह आले र जुम्लाका यज्ञप्रसाद देवकोटा रहेका छन्। दुवै जनालाई जनही ५० हजार नगद राशीसहित सम्मान गरिएको हो।नेपालमा नै बम डिस्पोजल गर्ने रोबर्ट निर्माण गरेको र विभिन्न किसिमका ड्रोन निर्माण तथा अनुसन्धान गरेको भन्दै उनीहरुलाई सो सम्मान गरिएको हो। आले र देवकोटाले बनाएको डिस्पोजल गर्ने रोबर्ट नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालले प्रयोग गर्दै आएको छ।

यसैगरी विज्ञान प्रविधिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत दाङका मार्शल रोका र कैलालीका सुमन पौडेललाई पनि जनही एक लाख नगद राशीसहित सम्मानपत्रद्वारा सम्मान गरिएको छ।रोकालाई सल्लाको खोटोबाट इन्धन उत्पादन, स्वचालित पानी तान्ने मेशिन निर्माण र कुखुराको मलबाट उत्पन्न गन्ध कम गर्ने रसायन उत्पादन तथा पौडेलले चालक निदाउँदा आफैँ ब्रेक लाग्ने यन्त्र निर्माण र कैलालीमा निजी पहलमा विज्ञान संग्रहालय स्थापना गरेको भन्दै उनीहरुलाई सो सम्मानबाट सम्मानित गरिएको हो।

यस्तै न्यून दृष्टियुक्त व्यक्तिलाई प्रतिघण्टा १० मिनेटका दरले लोकसेवा आयोगको परीक्षामा समय थप गर्न पहल गरेकाले नेत्रहीन युवा संघ नेपाललाई शिक्षातर्फको १ लाख राशीसहित सम्मानपत्रद्वारा सम्मान गरिएको छ।यसैगरी इप्सा नेपाल, काठमाडौँलाई रोजगारी उद्यमशीलता सम्मान प्रदान गरिएको छ। एक लाख नगदसहित अपांगता भएका व्यक्ति एवं एकल महिलालाई सीपमूलक तालिम प्रदान गरी रोजगार र स्वरोजगार प्रदान गरेको भन्दै सो सम्मान गरिएको हो।

यसैगरी, अल्लोको सामग्री उत्पादन र ६ भन्दा बढी मुलुकमा निर्यात गरेको भन्दै उद्यमशीलता सम्मानबाट ललितपुरकी माला थापा मगर सम्मानित भएकी छन्। टिस्यु कल्चर प्रविधिबाट केराका बिरुवा उत्पादन गरेको भन्दै बर्दियाका टोपलाल विकलाई कृषि सम्मान, रक्तदान कार्यक्रम निरन्तर सञ्चालन र किशोरीका लागि आत्मरक्षाका तालिम दिएको भन्दै पर्साका राजनकुमार श्रीवास्तव सम्मान प्रदान गरिएको छ।

२ हजारभन्दा बढी युवालाई निःशुल्क तथा सःशुल्क ब्युटिसियन तालिम प्रदान गरी स्वरोजगार बनाएकी नवलपुरकी एकल महिला उद्यमी सृजना सोतीपनि सम्मानित भएकी छन्


प्रकाशन मिति–२०७६ साल साउन २७ गते सोमवार ।