काठमाडौं। डार्क चकलेट खाँदा प्रेममा परेको जस्तै किसिमको आनन्द अनुभव हुने गर्दछ। अनुसन्धानकर्ताहरूले डार्क चकलेट खाँदा प्रेममा परेको जस्तै किसिमको आनन्द अनुभव हुने गरेको खुलासा गरेका हुन। उनीहरुका अनुसार, डार्क चकलेटमा प्रेम रसायन अर्थात फिनाइलइथाइलामाइन (पीइए) हुन्छ।

कसैसँग प्रेमसम्बन्धमा पर्दाका सुरुवाती समयमा सञ्चार हुने पीइएले शरीरमा आनन्द अनुभव गराउने डोपामाइन नामक हर्मोन पनि निष्कासन गराउँछ। साथै, मस्तिष्कको आनन्दसम्बन्धी केन्द्रलाई पनि यसले सक्रिय बनाउँछ। तर, चकलेटमा निकै कम मात्रामा मात्र पीइए हुन्छ।

कोकामा ट्रिप्टोफान नामक एमिनो एसिड पनि हुन्छ। जसले रक्तसञ्चार तथा सेरोटोनीनको (आनन्दको अनुभूतिसँग जोडिएको अर्को हर्मोन) स्तर बढाइदिन्छ। चकलेट र यौनबीचको सम्बन्ध १६ औँ शताब्दीवाट गाँसिएको हुनुपर्ने अनुमान गरिएको छ।

त्यसवेला हेर्नान कोर्टेस १६ शताब्दीका एक स्पेनी कंक्विस्टेडर (अमेरिकी महादेशका भूभाग कब्जा गर्न खटाइएका लडाकू) थिए। जो माया तथा एज्टेक साम्राज्यहरूमा पुगे। हाल मेक्सिको रहेको सम्पूर्ण जसो भूभाग कब्जा गरेर उनले क्यास्टिल साम्राज्यको अधिनमा ल्याए। चकलेटको सम्पर्कमा आउने पहिलो युरोपेली उनै भएको मानिएको छ।

उनले स्पेनका राजालाई लेखेको पत्रमा आफूले स्थानीय माया समुदायका मानिसहरूले कोकाको झोल खाने गरेको देखेको र त्यसले प्रतिरोध क्षमता बढाइदिने र थकान हटाउने उल्लेख गरेका छन्। तर,निश्चित रूपमै चकलेटको प्रयोग यौनवर्द्धक ओखतीको रूपमा भएको प्रमाण भने पाइदैन।
(बीबीसी नेपाली समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७७ साल जेठ १३ गते मंगलवार ।