काठमाडौं। नेपालमा प्रदेश राजधानीको विषयमा चर्को बहस भैरहेको छ। यो बहसमा गजबको निकास ३ नंबर प्रदेशका प्रदेश सभासद डा.अजयक्रान्ति शाक्यले निकालेका छन्। सभासद डा.शाक्यले प्रत्येक १२ बर्षमा प्रदेशको राजधानी परिवर्तन गर्ने निकास निकालेका हुन्।

१२ बर्षसम्म जुन जिल्लालाई राजधानी तोकिएको हो, त्यो जिल्लाको पूर्वाधार पूर्णरुपमा विकास गर्ने र त्यसअनुरुप अन्य जिल्लालाई पनि विकास गर्दै लाने हो।

यो धारणा ३ नंबर प्रदेशमा मात्र नभइकन नेपालका सातवटै प्रदेशमा अवलम्बन गर्न सकिने र गर्दैजानु पर्ने सभासद डा.शाक्यको जिकिर रहेको छ। यो अवधारणालाई विकास गर्न सकेमा मुलुकका कुना–कुनासम्म विकास गर्न सकिने दावी सभासद डा.शाक्यको दावी रहेको छ।

जुन अवधारणा अष्ट्रेलिया, पाकिस्तान, ब्राजिल, म्यान्मार लगायतका करिब ११ वटा देशले यो अवधारणालाई अवलम्बन गरिसकेको डा.शाक्यको भनाई रहेको छ। डा.शाक्य प्रदेशको राजधानी मात्र होइन, संघीय राजधानी पनि कम्तिमा प्रत्येक २५ बर्षमा सार्नुपर्ने मान्यता राख्छन्। यसरी संघीय राजधानी पनि सार्ने हो भने मुलुकको अन्य ठाउंको पनि विकासमा थप टेवा पुग्ने निश्चित हुन जाने ठहर डा.शाक्यको रहेको छ।

प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले भौगोलिक अवस्था, क्षेत्रफल, जिल्लागत दूरी, जनसंख्या, स्थानीय तहको संख्या, पूर्वाधारको अवस्था, सामाजिक तथा सांस्कृतिक अवस्था, वातावरणीय अवस्था सबैको अध्ययन गरेर वर्णानुक्रम अनुसार काभ्रेपलाञ्चोक, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर जिल्लामा ३ नंबर प्रदेशको राजधानी राख्दा उचित हुने सिफारिस गरेको छ ।

यो सिफारिस अनुरुप प्रत्येक १२ बर्षमा राजधानी सार्ने कार्य भएमा निश्चित रुपमा समानुपातिक रुपमा ३ नंबर प्रदेशका जिल्लाहरुको विकास हुने डा.शाक्यको राय ठहर रहेको छ।
प्रकाशन मिति–२०७५ साल कात्तिक १० गते शनिवार ।